२८ वर्षअघि हायात होटेललाई दिइएको ३०४ रोपनी जग्गा फिर्ता लिने तयारी


२२ जेष्ठ २०७७, बिहीबार
hayat hotel

काठमाडौं, २२ जेठ । तत्कालीन सरकारले २८ वर्षअगाडि काठमाडौं हायात रिजेन्सी होटेल लिमिटेडलाई नामसारी नै गरेर दिएको एक सय ५० रोपनी र भाडामा दिएको एक सय ५४ रोपनी जग्गा फिर्ता गर्ने प्रक्रिया तारागाउँ विकास समितिले सुरु गरेको छ ।

सरकारले त्यसवेला मालपोत ऐनविपरीत निजी कम्पनीका नाममा जग्गा पास गरेर दिएको दाबी गर्दै सो जग्गा फिर्ताको प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मंगलबार पत्र पठाएको हो ।

नेपाल सरकारअन्तर्गतको तारागाउँ विकास समितिले काठमाडौंको बौद्धमा हायात होटेल बनाउने भन्दै ५ मंसिर ०४९ मा एक सय ५० रोपनी जग्गा होटेलकै नाममा पास गरिदिएको थियो । सो जग्गाको मूल्य १५ करोड मूल्यांकन गरिएको थियो भने सरकारले थप दुई करोड होटेलमा लगानी गरेको थियो । त्यसबापत होटेलमा तारा गाउँ विकास समितिको सेयर हिस्सा ३९ दशमलव ७७ प्रतिशत कायम गरिएको थियो ।

बाँकी सेयर स्वामित्व राधेश्याम सर्राफ समूह र रामलाल श्रेष्ठ समूहको थियो । त्यस्तै, ५ जेठ ०५१ म एक सय ५४ रोपनी जग्गा भाडामा दिँदा समेत प्रक्रिया नपुगेको भन्दै नयाँ सम्झौताको प्रक्रिया अगाडि बढाइदिन समितिले पत्रमा अनुरोध गरेको छ ।

सरकारी जग्गा त्यसरी कुनै कम्पनी वा संस्थाको नाममा दिनु मालपोत ऐन, २०३५ को प्रतिकूल हुने तारा गाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेले बताए । कम्पनीको नाममा जग्गा दिनु गलत भएकाले फिर्ता गराउनुपर्ने र भाडामा दिएको जग्गाको सम्झौतासमेत नियम विपरीत भएकाले सम्झौता खारेजका लागि पत्र पठाएको न्यौपानेले जानकारी दिए । ‘यो तत्कालीन समयमा मन्त्रिपरिषद्ले गरेको निर्णय हो, मन्त्रिपरिषद्ले नै उल्ट्याउन सक्छ,’ अध्यक्ष न्यौपानेले भने ।

सर्राफ र श्रेष्ठ समूहले होटेलमा समितिको सेयर स्वामित्व करिब ४० प्रतिशतबाट घटाएर नौ प्रतिशतमा झारिदिएका छन् । विगतमा तारागाउँ विकास समितिको नेतृत्वमा आएकाहरूकै गलत कदमका कारण पनि होटेलमा सरकारको स्वामित्व घटेको, सरकारले लाभ नपाएकोलगायत समस्या देखिएकाले छानबिन गरेर दोषीमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बोधार्थ समेत दिइएको न्यौपानेले जानकारी दिए ।

हायात व्यवस्थापन समूह र समितिबीच लामो समयदेखि होटेलको नाफा, सेयर संरचना र जग्गाबारे विवाद बढ्दै गएको थियो । तारा गाउँ विकास समितिले पठाएको पत्र प्राप्त भएको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । ‘विकास समितिको पत्र आएको छ, यसमा अध्ययन गरेर बाँकी निर्णय हुन्छन्,’ सचिव अधिकारीले भने ।

तत्कालीन समयमा बौद्धस्थित एक सय ५० रोपनी सरकारी जग्गा दिएबापत सरकारको नाममा होटेलको सेयर ३९ दशमलव ७७ प्रतिशत थियो । होटेलमा सरकारी सेयरको हिस्सा व्यवस्थापनले जालझेल गरेर निरन्तर घटाउँदै ९ दशमलव ०१ प्रतिशतमा झारेको थियो ।

अर्कोतिर अर्बौँ मूल्य पर्ने सरकारी जग्गा भने पूर्ण रूपमा निजी कम्पनीको हातमा पुगेको छ । यस विषयमा पुनर्विचार गर्नुपर्ने सुझाब महालेखा परीक्षकको प्रतिवेदनले समेत पटक–पटक दिँदै आएको छ ।

यता भाडामा दिइएको एक सय ५४ रोपनी जग्गा पनि विगतमा २९ वर्षका लागि भाडामा दिइएको थियो । तर, पछि ४९ वर्षका लागि भन्दै अर्को सम्झौता गरिएको थियो । एक रोपनीको १० हजारका दरले १० वर्षसम्म र १० वर्षपछि १० प्रतिशत बढ्ने गरी सम्झौता भएको थियो । जसको वार्षिक १४ लाख ८० हजार तारा गाउँ विकास समितिले पाउने गरेको थियो । अहिले बढेर १६ लाख २८ हजार रुपैयाँ पाउन थालेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७