आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव


२२ जेष्ठ २०७७, बिहीबार
chalphal2020 06 04 05 22 40 1

काठमाडौं, २२ जेठ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउन आर्थिक र स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको सो छलफलमा कोरोना सङ्क्रमित दुई हजार नाघेका अवस्थामा सीमित स्रोत साधनबाट उपचार र सचेतनाका लागि अपनाउनुपर्ने र आर्थिक गतिविधिलाई क्रमशः अगाडि बढाउन अपनाउनुपर्ने थप रणनीतिका विषयमा विज्ञले सुझाव दिएको जनाइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न क्षेत्रका २५ विषयविज्ञको सहभागितामा सम्पन्न परामर्श बैठक उपलब्धिमूलक र फलदायी भएको जानकारी दिए ।

करीब चार घण्टा चलेको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसहित उच्च अधिकारी एवं अर्थ र स्वास्थ्यविज्ञ तथा सामाजिक अभियानकर्मी सहभागी रहेका थिए ।

सरकारले यही जेठ ३२ गतेसम्म बन्दाबन्दी कायम गरेको र यहीबीचमा भारतलगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने योजना सार्वजनिक गरेको छ । आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गराउनुपर्ने दबाब पनि सरकारलाई बढेको छ ।

कोरोना रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि बन्दाबन्दी कायम रहँदा उद्योग, व्यवसायका साथै श्रमिक वर्ग प्रभावित भई मुलुकको आर्थिक गतिविधिमै असर परिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७