राजु सदा मृत्यु प्रकरण : प्रदेश सरकारले बनायो छानविन समिति, परिवारलाई पाँच लाख राहत


१२ असार २०७७, शुक्रबार
raju sada

जनकपुरधा, १२ असार । प्रादेशिक अस्पताल जनकपुरको आइसोलसनमा मृत्यु भएका १६ वर्षीय किशोर राजु सदाको घटना छानविनका लागि प्रदेश–२ सरकारले समिति गठन गरेको छ ।

प्रदेश–२ सरकारले राजुको मृत्युको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साहको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको हो ।

समितिका सदस्यमा समाजिक विकास मन्त्रालयअन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका कानुन उपसचिव दिलीपकुमार प्रधान छन् ।

समितिले राजुको मृत्यु के कति कारणले भएको हो भन्ने अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न समाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
राजुको मृत्युको सन्दर्भमा उपचारमा संलग्न चिकित्सकहरुको टोलीले मेडिकल अडिट प्रतिवेदन प्रादेशिक अस्पताललाई बिहीबार बुझाइसकेको छ ।

प्रादेशिक अस्पतालका वरिष्ठ चिकित्सक डा. कुल्दीप पण्डितले राजुको मृत्यु सन्दर्भमा बुझाएको प्रतिवेदनमा उनलाई इन्सेफ्लाइटिस रोगको भएको र सो रोगको उपचार नभएका कारण मृत्यु भएको उल्लेख छ ।

उपचारमा संलग्न चिकित्सकहरुको टोलीले बुझाएको प्रतिवेदनलगायत अन्य सान्दर्भिक तथ्य, तथ्यांक , सूचना र सोको स्रोत समेतलाई अध्ययन एवं विश्लेषण गरी पेश गर्न छानविन समितिलाई निर्देशन दिएको छ ।

छानविनको क्रममा मृत्यु भएका राजुको उपचार व्यवस्थापन वा सेवा प्रवाहामा कहीं कतैबाट कमी कमजोरी वा लापरवाही भएको पाइए कानुन बमोजिम कारबाही समेत गर्ने समाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनुषाको हंशपुर नगरपालिका–७ प्रसाहीका राजु सदाको क्वारेन्टिनमा आरडीटीमा पोजेटिभ रिपोर्ट आएपछि उनलाई जेठ २९ गते प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो । पछि राजुलाई झाडापखाला समेत लागेपछि कोरोना भन्दै चिकित्सकहरु उनको उपचारमा चासो दिएनन ।

पीसीआर टेस्टको लागि स्वाब संकलन गरिए पनि समयमा रिपोर्ट आएन । असार ८ गते आएको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सिकिस्त अवस्थामा पुगिसकेका उनलाई अस्पतालको इमरजेन्सी कक्षमा भर्ना गरिएको थियो ।

समयमै उपचार नहुँदा राजुको गएको मंगलबार प्रादेशिक अस्पतालको इमरेजन्सी कक्षमा मृत्यु भएको थियो । भारतको मदरासबाट झण्डै एक साता लगाएर साथीभाइसँग घर फर्केका राजलाई हंसपुर नगरपालिका ७ को क्वारेन्टिनमा राखिएको थियो ।

क्वारेन्टिनमा बसेको १० दिनपछि राजुलगायतको आरडीटी परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । दुई दिनपछि आफूलाई सञ्चो नभएको बताएपछि उनलाई प्रादेशिक अस्पतालको आइसोशन कक्षमा भर्ना गरिएको थियो ।

परिवारलाई पाँच लाख सहयोग गर्ने प्रदेश सरकारको घोषणा
राजु सदाको परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप पाँच लाख दिइने जानकारी दिए ।

घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको जनाउँदै मन्त्री यादवले छानबिनमा दोषी देखिने जोकोहीलाई कारबाही गरिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७