ओली–प्रचण्डलाई वार्तामा बसाउन दोस्रो पुस्ताका नेता सक्रिय


१९ असार २०७७, शुक्रबार
kp oli prachanda madhav
फाइल फोटो

काठमाडौं, १९ असार । पार्टी एकता नै अलपत्र पार्ने गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताबीच देखिएको विवाद हल गर्न दोस्रो पुस्ताका नेताहरु सक्रिय भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको मागसहित सत्तारुढ नेकपामा जारी विवाद पार्टी फुटको दिशातिर धकेलिन थालेपछि दोस्रो तहका नेता नेकपाका दुई अध्यक्षलाई वार्तामा बसाउने वातावरण निर्माणमा जुटेका छन् ।

सोही प्रयास अन्तर्गत बिहीबार अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गराउने तयारी भएको हो ।

नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले अध्यक्षद्वयबीच छलफल गराउन प्रयास गरिरहेका हुन् । तत्कालीन नेकपा–एमाले र माओवादी केन्द्रबीच एकता गर्दा पनि महत्वपूर्ण भूमिका खेलेका पौडेल र शर्मा शुक्रबार बिहानैदेखि सक्रिय भएका हुन् । केहिबेरपछि ओली प्रचण्डबीच भेटको वातावरण बनाइएको स्रोतले दावी गरेको छ । तर स्थानको भने टुङ्गो लागिनसकेको जनाइएको छ ।

यसैबीच आज बिहीबार बिहानैदेखि ओली पक्षीय तथा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो र तेस्रो तहका नेताहरु पनि आगामी रणनीति तय गर्न आन्तरिक बैठकमा व्यस्त रहे । बिहीबार बसेको स्थायी समिती बैठक राम्रोसँग सञ्चालन नै नभई स्थगित भएको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली एकातिर छन् भने अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अर्कोतिर छन् । यद्यपि सहमतिको प्रयास जारी छ ।

शुक्रबार दुवैतिर रहेका दोस्रो पुस्ताका नेताहरुको संयुक्त बैठक बसेको हो । बैठकमा जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, प्रदीप ज्ञवाली, शंकर पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, विष्णु रिमाल र मणि थापा सहभागी थिए ।

बैठकले पार्टी एकतालाई हरहालतमा जोगाउन पर्नेमा जोड दिएको छ । ‘यसका लागि युवद्धविराम गरौं भनेका छौं’, एक नेताले भने, ‘अहिले जुन खालको आरोप प्रत्यारोप, ब्लेम गेम भइरहेको छ, त्यसलाई रोकौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७