गोरखा अस्पतालमा कोरोना संक्रमितको मृत्यु, चार दिनअघि मात्रै कतारबाट आएका थिए


२० असार २०७७, शनिबार
korona death

गोरखा, २० असार । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको उपचारकै क्रममा ज्यान गएको छ । गोरखा पालुङटार नगरपालिका– ७ का ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाले ती पुरुषको शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको जानकारी दिए । अस्पतालको आइसोलेसनमा राखेर उनको उपचार हुँदै आएको थियो । डा. थापाका अनुसार उनी डाइबिटीजको दीर्घरोगी समेत थिए ।

उनी यही असार १६ गते कतारबाट आएका थिए । उनलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ लगातार खोकी लागेपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेनमा लगिएको थियो ।

गोरखा पालुङ्टारका ४४ वर्षीय पुरुषको मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० र ५५ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७