‘आइतबारबाट सार्वजनिक सवारी साधन चल्ने कुरा हल्ला मात्रै’


२० असार २०७७, शनिबार
jam scaled

काठमाडौं, २० असार । लकडाउन केहि खुकुलो भए पनि सार्वजनिक सवारी साधन भने तत्काल सञ्चालनमा नआउने भएको छ ।

आइतबारबाट सार्वजनिक यातायात खुल्ने भनि बाहिर आएका कुरा हल्ला मात्र भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी गराएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग छलफल भइरहेकाले आइतबारबाट नै सार्वजनिक यातायात चल्ने कुरा झुटो भएको आज (शनिबार) स्पष्ट पारेको छ ।

शुक्रबारदेखि सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा आइतबारदेखि व्यवसायीले सरकारको अवज्ञा गरेर सार्वजनिक सवारी सधान सञ्चालनमा ल्याउने समाचार आएका थिए ।

महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले यातायात सञ्चालन गर्ने विषयमा छलफल भइरहेकाले महासंघले आन्दोलन गर्ने कुनै निर्णय नगरेको जानकारी दिएका छन् । ‘हामी सरकारसँग कसरी सार्वजनिक यातायात सञ्चालन गर्ने भन्ने छलफलमा छौं,’ कर्मचार्यले भने, ‘कहिले कसरी चलाउने भन्ने निणर्य भएको छैन ।’

केही सञ्चारमाध्यममा असार २१ देखि यातायात व्यवसायी महासंघले आन्दोलन गर्ने भन्ने झुटो भएको उनले बताएका छन् । ‘सरकारले साउन ७ गतेसम्म त लकडाउन गरेकै छ,’ उनले थपे, ‘व्यवसायीले कुनै योजना विना यातायात सञ्चालन गछौं भनेर हुँदैन । सरकारसँग छलफल गरेर समझदारीमा चल्नु पर्छ ।’

यातायात व्यवसायीले सरकारलाई सार्वजनिक यातायात चलाउने वातावरण बनाउन आग्रह गरिरहेका छन्। ट्याक्सी व्यवसायीले त काठमाडौंमा असार १६ देखि धर्ना नै दिइरहेका छन् ।

दिनभर कामगरी साझा खाने यातायात मजदुर भोकै बस्न परेको भन्दै यातायात सञ्चालन गर्न दिनुपर्ने उनीहरुको माग छ । महासंघका महासचिव सरोज सिटौलाले असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आए पनि महासंघले यसबारे कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।

‘महासंघले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे मजदूर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा वार्ता र सम्वाद गरिरहेको छ,’ उनले भने, ‘नेपालमा सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासंघले चाँडै नै सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७