ढलमा कोरोना भाइरस भेटियो भन्दैमा समुदायमा सर्‍यो भन्न मिल्दैन : स्वास्थ्य मन्त्रालय


२१ असार २०७७, आईतवार
korona 5

काठमाडौं, २१ असार । सरकारले काठमाडौंको ढलको पानीमा कोरोना भाइरस भेटिएको र अवस्था भयावह भइरहेको भन्ने हल्लाप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले संसारका अरु देशमा पनि ढलको पानीमा कोरोना भाइरस भेटिएकोले आत्तिनु नपर्ने बताएका छन् ।

व्यक्तिमा कोरोना सङ्क्रमण रहेको अवस्थामा वा निको भइसकेपछि पनि उसको दिसामा भाइरसका टुक्राटाक्री देखिने हुनाले ढलमा कोरोना देखियो भन्दैमा समुदायमा फैलियो भन्न नमिल्ने प्रवक्ता डाक्टर गौतमले बताए ।

ढलको पानीमा कोरोना भाइरस दुई दिनसम्म बाँच्न सक्ने तर अध्ययनहरुबाट ढलको पानीबाट व्यक्तिमा कोरोना सरेको प्रमाण नभेटिएको गौतमको भनाइ छ ।

काठमाडौको ढलमा कोरोना भाइरस देखिएकोले कोरोना समुदायस्तरमा पुगेर अवस्था भयावह भयो भन्न नमिल्ने उनको दाबी छ । तर ढलको पानीमा कोरोनासँगै अरु रोगका पनि किटाणु रहन सक्ने भएकाले ढलको काम गर्नेहरुले व्यक्तिगत सुरक्षा सतर्कता अपनाउनुपर्ने डाक्टर गौतमको भनाइ छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा स्वास्थ्य मन्त्रालयले यसबारेमा अध्ययन गर्ने प्रवक्ता गौतमले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७