विदेशमा १४३ नेपालीको कोरोनाबाट मृत्यु, हाल ९२ प्रतिशत संक्रमणमुक्त

२६ हजार ३९६ नेपालीको उद्दार, १५७ शव ल्याइयो, अझै १०९ शव ल्याउन बाँकी


२८ असार २०७७, आईतवार
korona death 1

काठमाडौं, २८ असार । विश्वव्यापी कोरोना भाइरस महामारीका कारण विदेशमा यो साता कुनै पनि नेपालीको मृत्यु भएन ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या र संक्रमणको दर उल्लेख्य रुपमा कमी हुँदै गएको छ । संघका अनुसार जम्मा कोराना संक्रमितमध्ये ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।

हिजो (शनिबार) साँझसम्म विश्वभर २९ हजार ६२४ जनामध्ये २७ हजार ३६२ जना नेपाली संक्रमणमुक्त भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबरलगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ ।

bbb

नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउनेको संख्या १८१ पुगेको छ भने ४६ हजार ३४६ जना संक्रमित छन् ।

तीमध्ये ३५ हजार ८०४ जना कोरोनामुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । यसअघि गत सातासम्म १४ देशमा संख्या १४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको थियो ।

नेपाललगायत मध्यपूर्वका देश बाहेक अन्य मुलुकमा कोरोना संक्रमण जारी रहेको प्रति एनआरएनए स्वास्थ्य समितिले चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले जारी गरेका स्वास्थ्य सम्वन्धी सूचनाहरुलाई कडाईका साथ पालना गर्न समितिले आग्रह गरेको छ ।

२६ हजार ३९६ जना नेपालीको उद्दार
कोरोना संक्रमणसँगैं हालसम्म विदेशमा अलपत्र परेका २६ हजार ३९६ को उद्धार गरिएको छ ।

नेपाल सरकार, कुटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३९६ जना नेपालीको उद्धार गरेको छ ।

nepal airlines 3

विभिन्न एयरलाइन्सका १४९ उडान फ्लाइटमार्फत उनीहरुको उद्दार गरिएको हो । गत जेठको मध्यदेखि शुरु उद्धार उडानमार्फत हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट ५ हजार ५२७ सय जनाको उद्धार भएको छ ।

कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी धेरै ५ हजार २४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट ४ हजार ३० जना, मलेसियाबाट ३ हजार ५३, कतारबाट २ हजार ८८४ जनाको उद्धार गरिएको हो ।

यस्तै अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, सिंगापुरबाट १४६, हङकङबाट ८९, बहराइनबाट ५६७, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्काइएको हो । शनिवार मात्रै विभिन्न मुलुकबाट एक हजार ३८१ जना स्वदेश फर्किएका छन् ।

१५७ शव ल्याइयो
यसै अवधिमा १५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४०६ जनामध्ये १४६ जनाको परिवारको सहमतिमा देशमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै १०९ वटा शव नेपाल ल्याउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७