पूर्व शिक्षकले खाना खाइरहेका ८० वर्षीय काकालाई खुकुरीले हानेर गरे हत्या


२८ असार २०७७, आईतवार
a850c33af19635ec0a554910d92e8ae2 w1000 h500 cp

पोखरा, २८ असार । शिक्षकलाई समाजको पथप्रदर्शक मानिन्छ । कास्की मादी गाउँपालिकाका एक पूर्व शिक्षकले भने आफ्नै ८० वर्षीय काकालाई खुकुरी हानेर हत्या गरेका छन् ।

बाँदर धपाउँदा ढुङ्गा हानेको विषयलाई लिएर चर्केको विवादकै बीच कास्कीको मादी गाउँपालिकाका एक व्यक्तिले आफ्नै ८० वर्षीय काकाको हत्या गरेका हुन् ।

मादी गाउँपालिका–४,घामनुङका ५५ वर्षीय नवराज सापकोटाले शनिबार आफ्नै काका ८० वर्षीय पिताम्बर सापकोटा र ७७ वर्षीय केशवराज सापकोटामाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका पिताम्बरको पोखरामा रहेको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । अर्का घाइते केशवराजको अस्पतालमा उपचार भइरहेको छ ।

कृषि विषयमा डिग्री उत्तीर्ण गरेका र पेशाले पूर्व शिक्षक रहेका नवराजले रिसको आवेगमा आफूले खुकुरी प्रहार गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनलाई प्रहरीले आइतबार बिहान पोखरा–१३ कसेरीबाट पक्राउ गरेको हो ।

‘उनीहरुबीच पहिल्यैदेखि मिल्ती थिएन, शनिबार नवराजले बाँदरलाई ढुङ्गा हान्दा ममाथि किन ढुङ्गा हानेको भन्दै काकाले प्रश्न गरेपछि विवाद शुरु भएको रहेछ’, आइतबार आयोजित पत्रकार सम्मेलनमा एसपी श्रेष्ठले भने, ‘त्यसपछि अभियुक्तकी श्रीमतीले आफ्ना श्रीमानलाई तानेर लगेकोमा पछि रिसको आवेगमा आएर नवराजले खाना खाँदै गरेका काकामाथि खुकुरी प्रहार गरेका रहेछन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७