तनहुँ पहिरो : दुईको मृत्यु, १० जना बेपत्ता (अपडेट)


२९ असार २०७७, सोमबार
x1835256340pahiro.jpeg.pagespeed.ic .hI6Y ZvJCK

तनहुँ, २९ असार । लगातारको बर्षापछि तनहुँका विभिन्न ठाउँमा गए राति आएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको हो । त्यसैगरी ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच र ब्यास नगरपालिकामा पाँच गरी १० जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा माथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले च्यापिएर गम्भीर घाइते भएकी विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिएका छन् ।

यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृतक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुने सबै एकै परिवारका हुन् ।

एकै घरका ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा पहिरोमा बेपत्ता भएका प्रहरीले जनाएको छ। घर मुली अणबहादुर थापा अर्को घरमा सुतेकाले जागिएका छन् ।

पहिरोमा परेर घाइते भएकी ६० वर्षीया ज्योतिमाया थापालाई उपचारका लागि भीमाद लगिएको छ । त्यसैगरी ब्यास नगरपालिका ९ मा केशरवहादुर थापाको घर पहिरोले बगाउँदा एकै परिवारका चार जना बेपत्ता भएका छन् ।

‘उनीहरु सबैको नाम खुल्न बाँकी छ,’ डिएसपी तिमिल्सनाले नेपालखबरसँग भने, ‘घटना सोमबार बिहान पाँच बजेतिरको हो । यतिबेला सबै घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार सुरु गरेको छ ।’

यस्तै व्यास नगरपालिका ९ मै मानबहादुर घर्तीको घर पहिरोले पुरिँदा घर्तीकी ७० वर्षीया आमा बेपत्ता भएकी छन् । बेपत्ता सबैको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी र उद्धार सुरु गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७