मानबहादुर बने दलित समुदायबाट पहिलो सचिव


३० असार २०७७, मंगलवार
man bdr

काठमाडौं, ३० असार । नेपाल सरकारको सचिव पदमा पहिलोपल्ट दलित समुदायका व्यक्ति पुगेका छन् । मन्त्रिपरिषदको सोमबारको बैठकले डा. मानबहादुर बीकेलाई सचिवमा बढुवा गरेको हो ।

लोकसेवा आयोगको अध्यक्ष उमेशनाथ मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको बैठकले सचिव बढुवाका लागि बीकेसँगै गोकर्णमणि दुवाडी र मधु मरासिनीको नाम सिफारिस गरेको थियो । तीनमध्येबाट बीके सचिव बढुवा भएका मन्त्रिपरिषद स्रोतले जनाएको छ । डा. बीके हाल युवा तथा खेलकुद मन्त्रालयमा थिए ।

खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका डा. बीके ०६० सालमा दलित समुदायबाट पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेका थिए ।

बर्दिया, स्याङ्जा, चितवन, मकवानपुर, सिरहा, तनहुँलगायतका जिल्लामा सीडीओ भई काम गरेका उनी श्रम विभागको महानिर्देशक, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र प्रदेश ५ को प्रमुख सचिवको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

पाल्पाको निम्न वर्गीय परिवारमा जन्मिएका बीकेले ब्राण्डाइज युनिभर्सिटी अमेरिकाबाट पोस्ट डक्टरेट गरेका छन् । आजको सफलतालाई डा. बीकेले नियमित संघर्षको प्रतिफल भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७