फेरि बढ्यो सुनको भाउ, कति पुग्यो ?


४ श्रावण २०७७, आईतवार
gold

काठमाडौं, ४ साउन । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । आज (आइतबार) बजारमा सुन ३०० रूपैयाँ बढेर तोलाको ९२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

गत बिहीबारका तुलनामा ५०० घटेर शुक्रबार ९२ हजार २०० रूपैयाँ प्रतितोला भएको थियो । आइतबार पुनः बढेको हो ।

चाँदी पनि १० रूपैयाँले बढेर गत बिहीबारकै भाउमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो दिनभन्दा १० रूपैयाँ घटेर चाँदी गत शुक्रबार ९९५ प्रतितोला भएको थियो । आइतबार पुनः १ हजार ५ रूपैयाँ पुगेको हो ।

लकडाउन शुरु हुनु अघिल्लो दिन गत चैत १० मा सुन ७७ हजार र चाँदी ७२० रूपैयाँ प्रतितोला थियो । तीन महिना लामो लकडाउनलाई सरकारले खुकुलो पारेर बजार खोल्न दिंदा गत असार १ मा सुन प्रतितोला ८९ हजार ७०० रूपैयाँ र चाँदी ९२५ रूपैयाँ भएको थियो ।

नेपाली बजारमा कारोबारको अवस्था निराशाजनक भए पनि अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले आफ्नो पुँजीको सुरक्षा खोज्दा सुन निरन्तर महंगिएको हो ।

महाशक्ति राष्ट्रहरूको अर्थव्यवस्थामा कोरोना महाव्याधिले पारेको नकारात्मक असर कम हुँदै जाँदा सुनचाँदीको भाउ पनि घट्ने अनुमान थियो । तर, अन्तर्राष्ट्रिय बजारमा आर्थिक गतिविधि सुध्रन थालेपछि पनि सुनको भाउ घटेको छैन । अन्तर्राष्ट्रिय बजारमा आइतबार बिहान सुन प्रतिऔंस १८१०.०१ डलर र चाँदी १९.३५ डलरमा कारोबार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७