हिजो ‘ठाकठुक’ मै छुटेका ओली–प्रचण्ड आज फेरि छलफलमा

वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा सहभागी


१९ श्रावण २०७७, सोमबार
kp oli prachanda

काठमाडौं, १९ साउन । एक–अर्कालाई दोषारोपण, घोचपेच र ठाकठुकमै हिजो (आइतबार) छुटेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली रपुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (सोमबार) विहानैदेखि ‘ठोस सहमति’ खोज्न छलफलमा बसेका छन् ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल समेत सहभागी छलफल भर्खरै प्रधानमन्त्री निवास वालुवाटारमा शुरु भएको छ । बिहान सवा ९ बजेदेखि जारी छलफल महिना दिनभन्दा बढी समयदेखि पार्टीभित्र भइरहेको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच विवाद समाधानका लागि ठोस सहमति गर्न प्रयत्न भइरहेको छ स्रोतले बताएको छ । अध्यक्ष ओलीले एकलौटी रुपमा स्थायी कमिटी वैठक स्थगित गरेपछि आइतबार भएको छलफलले दुई अध्यक्षबीचको संवादहिनता तोडे पनि सहमतिको कुनै विन्दु पहिलाउन सकेको थिए ।

ओली–प्रचण्ड दुवैले आ–आफ्ना अडान नछाडेपछि हिजो आइतबारको छलफल निष्कर्षविहीन बनेको थियो । हिजो जारी विवाद स्थायी कमिटी बैठकबाट टुंगो लगाउने कि सचिवालयबाट भन्नेमा कुरा मिलेको थिएन । ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिन अस्वीकार गरिरहेका छन् भने अर्का अध्यक्ष पनि ओलीले एउटा पद छाड्नै पर्ने अडानमा छन् ।

१० असारदेखि सुरु स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित छ । १३ साउनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डले २८ जना सदस्यसहित बैठक राखेका थिए । यहींबाट शुरु भएको दुई अध्यक्षको संवादहीनता आइतबार साक्षीसहित तोडिएको छ । तर, सोमबार पुनः बसेर छलफल गर्नेबाहेक छलफलमा कुनै प्रगति भएको छैन् ।

बरु, दुवै पक्ष आ–आफ्ना अडानमा कायमै छन् । र, विवाद समाधान सचिवालय, स्थायी कमिटी र महाधिवेशन कहाँबाट गर्ने भन्नेमा नयाँ विवाद थपिएको छ । छलफलमा ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाललाई पनि छलफलमा सहजीकरणका लागि साक्षी राखेका थिए ।

अविश्वास र असहमतिको गोलचक्करसँगै बहुमत–अल्पमतको शक्ति–परीक्षणमा केन्द्रित दुवै पक्षबीच सहमतिका लागि छलफल सविचालय बैठकबाट शुरु गर्ने कि स्थायी कमिटी बैठकमा जाने भन्नेमा विवाद जन्मेको हो । प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नैपर्ने प्रचण्ड–वरिष्ठ नेता नेपाल समूहको माग यथावत् छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७