सप्तरीमा अचानक तीन जनाको मृत्यु, लक्षण कोरोनासँग मिल्दोजुल्दाे

मृत्तकको स्वाब संकलन गरिंदै, अन्तिम दाहसँस्कार गर्न लाग्दा रोक्यो प्रहरीले


२१ श्रावण २०७७, बुधबार
korona death

सप्तरी, २१ साउन । सप्तरीमा तीन जना व्यक्तिको अचानक मृत्यु भएको छ ।
मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जना र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको एक्कासी मृत्यु भएको हो । उनीहरुमा कोरोना भाइरस संक्रमणको जस्तै लक्षण देखिएको थियो ।

सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गढियामा डेढ महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका ती पुरुषलाई मंगलबार एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो ।

यहाँ उपचार हुन नसकी धरानतर्फ पठाइएपछि त्यसतर्फ जाने क्रममा बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिएका छन् ।

यस्तै राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका दुई जनाको पनि मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।

मृत्तकको स्वाब संकलन गरिंदै
मृत्यु भएका रुपनी गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको बुधबार बिहान परिवारजनले अन्तिम संस्कार गरिरहँदा प्रहरी पुगेर रोकेको छ । स्वाब संकलनका लागि अन्त्येष्टि कार्य रोकिएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताएका छन् ।

उनले ती पुरुषसहित मृत्यु भएका तीनै जनाको स्वाब संकलनका लागि टोली खटिइसकेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७