‘जसपाले प्रधानमन्त्रीका बारेमा प्रयोग गरेको भाषा अशिष्ट र पूर्वाग्रही’


२७ श्रावण २०७७, मंगलवार
PM KP Oli
बैठकमा प्रधानमन्त्री ओली

काठमाडौं, २७ साउन । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयले त्यसलाई कुण्ठाग्रस्त गालीगलोज भन्दै निन्दा गरेको छ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि गत आइतबार जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको उल्लेख छ ।

त्यसको दुई दिनपछि आज प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गर्दै जनता समाजवादी पार्टीको विज्ञप्तिमा प्रधानमन्त्रीप्रति प्रयोग गरिएको भाषा निन्दनीय भएको उल्लेख गरेका छन् ।

राजनीतिमा विवाद, मतभेद र असहमतिहरू भए पनि त्यसका आधारमा तल्लोस्तरको अपसंस्कारको प्रदर्शन हुनु दुःखद भएको थापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ । निहीत स्वार्थ पूरा गर्न ओलीलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको र यो कुनै नौलो कुरा नभएको उनको दावी छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ । शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफैं असुरक्षित र पतन हुनु अनिवार्य छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७