नेपाल प्रहरी अस्पताल : कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा केन्द्रीत


३० श्रावण २०७७, शुक्रबार
Nepal Police Hospital नेपाल प्रहरी अस्पताल

काठमाडौं, २९ साउन । महाराजगञ्ज स्थित नेपाल प्रहरी अस्पतालले आफ्नो जनशक्ति कोरोना भाइरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा केन्द्रीत गरेको छ । पछिल्लो समयमा सुरक्षाका लागि फ्रन्टलाइनमा खटिएर सेवा दिइरहेका सुरक्षाकर्मीमा नै धमाधम संक्रमण देखिएपछि प्रहरी अस्पताल यसको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रीत भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समयमा नेपाल प्रहरीका तीन सय ४९, सशस्त्र प्रहरीका एक सय ७२ र सेनाका एक सय ५४ जना संक्रमित भएका छन् । नेपाल संक्रमितमध्ये एक सय ४९ जना निको भइसकेका छन् ।

विहिबारसम्मको तथ्याङ्गक अनुसार नेपाल प्रहरी अस्पतालमा १ सय ६७ जना कोराना संक्रमित प्रहरीको उपचार भइरहेको अस्पतालले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हाल सबैभन्दा बढी प्रहरी हेडक्वार्टरको सवारी शाखा (एमटी), सञ्चार, विपद व्यवस्थापन शाखा, महानगरीय ट्राफिक प्रहरी महाशाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरीलाई संक्रमण बढी देखिएको छ ।

संक्रमित प्रहरीको उपचारको लागि नेपाल प्रहरी अस्पतालमा केन्द्रीत गरिएको छ । संक्रमितको उपचारसँगै कार्यक्षेत्रमा खटिएका प्रहरीको पिसिआर परिक्षण, संक्रिमतहरुको सम्पर्कमा रहेका प्रहरीको स्वाब कलेक्सन गरेर परिक्षणलाई तिब्र बनाइएको प्रहरी अस्पतालका प्रवक्ता एसएसपी डा.सञ्जय बिक्रम श्रेष्ठले बताए । प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहको नेतृत्वमा कोरोना नियन्त्रण, संक्रमितको उपचार र सम्भावित संक्रमित रहेको परिक्षणलाई तिव्र पारिएको उनको भनाई छ । डा.सिंह दैनिक रुपमा आफै पनि खटिरहेकी छिन् ।

AIGP asha singh
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंह

अस्पतालले कोरोना नियन्त्रणका लागि अस्पतालको सुरक्षा र सफाईमा पनि उच्च शर्तकता अपनाएको छ । डिसइन्फेक्टलाई प्रभावकारी बनाइको छ । प्रवक्ता डा.श्रेष्ठका अनुसार कोभिड–१९ महामारी सुरुभएसँगै अस्पतालले अस्पतालमा क्वारेन्टाइन टेन्ट, आइसोलेसन अब्जर्भेसन बेड तयारी अवस्थामा राखेको थियो । क्वारेन्टाइनका लागि राखिएका टेन्टहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप व्यवस्थित गरिएको अस्पतालले जनाएको छ ।

२०७६ चैत ११ गतेदेखि सरकारले देशव्यापी लकडाउन गर्ने निर्णय गरेसँगै २७ हजार ८ सय प्रहरी त्यसलाई लागू गर्न हरेक दिन फिल्डमा खटिएका छन् । अधिकांस ती प्रहरीहरु स्वास्थ्यमा समस्या भएको बेला यही अस्पतालमा आउने गरेका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी, नर्स तथा प्रहरीहरुको स्वास्थ्य सुरक्षामा पनि अस्पतालले उच्च ध्यान दिइएको अस्पतालले जनाएको छ । उपचार तथा कार्यक्षेत्रमा खटिएका सबैलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ), मास्क लगायतका सामग्रीहरु वितरण गरिएको छ ।

१५० बेड रहेको प्रहरी अस्पताल पछिल्लो समयमा सरकारी अस्पताल मध्ये उत्कृष्ट सेवा दिने अस्पताल हो । २६ कात्तिक २०७४ बाट सर्वसाधारणका लागि पनि खुला गरिएको थियो । विसं २०७४ जेठ ४ गते मन्त्रिपरिषद्को बैठकले प्रहरी अस्पताल सर्वसाधारण नागरिकका लागि खुला गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७