राष्ट्र कविको यो अन्तिम गीत : जुन गीत आफ्नो मृत्युपछि मात्रै बजाउन भनेका थिए {भिडियाे}


२ भाद्र २०७७, मंगलवार
madhav prasad ghimire 2 scaled

काठमाडौँ, २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो निधनपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउन भनेका गीत सार्वजनिक भएको छ । ‘त्यसरी होओस्….’बोलको गीत राष्ट्रकवि घिमिरेको परिवारले रासस मार्फत सबै सञ्चार माध्यमहरुलाई उपलब्ध गराएको हो । आज साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरी छोरी शान्ति अधिकारीको परिकल्पना र सङ्गीतमा पहिल्यै रेकर्ड गराएका थिए ।

२०१६ असोज १ गते लेखिएको यो गीतमा कर्ण दासको स्वर रहेकाे छ । घिमिरेका नातिनीज्वाइँ डा प्रकाश भट्टराईले उक्त बोलको गीतको अडियो सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गर्दै राससका समाचारदाता प्रकाश सिलवालमार्फत उपलब्ध गराउनुभएको हो । डा भट्टराईले केही अनलाइनले आफ्नो मात्रै एकाधिकार र स्वामित्व जस्तो अर्थ लाग्ने गरी गीत सार्वजनिक गराएकामा आपत्ति प्रकट गरेका छन् ।

राष्ट्रकविको गीत :
‘त्यसरी होओस् मरण……
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।

……..

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।
……….
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंँमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण ।।
…..
अमरापुरी सभामा आफैँलाई गरूँ वरण
त्यसरी होओस् मरण ।।”
….

यस गीतलाई गायक कर्ण दासले गायकले स्वर दिएका छन । संगित परिकल्पनाको राष्ट्रकवि घिमिरेका छोरी शान्ति अधिकारीले गरेका हुन् । यसैगरी संगीत कम्पोजर तथा एरेन्जर आशिष अविरल, बाँसुरी गोपाल घटानी, डम्फू, मादल र तबला भुवन गन्धर्व, सारंगी हेमन्त कान्छा रसाइली, गितार सञ्जीब बराइली, बेस गितार अनुप दासले गरेका छन् ।

यस्तै भायोलिन नोर्बू छिरिङ आप्पा, मोहनकृष्ण कार्की दली, गणेश परियार, मनोहर सुनाम र रविन कार्की दली दिएका छन । यस गीत शान्ति शर्मा अधिकारी, अशेषकान्त शर्मा र मन्दिरा ढुंगेलले गरेका हुन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७