ड्युटी गरिरहेका बेला जीपको ठक्करबाट ज्यान गुमाएका प्रहरीलाई शोक सलामी


५ भाद्र २०७७, शुक्रबार
police death pokhara 20200821000756

पोखरा, ५ भदौं । पोखरामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई प्रहरीलाई शोक सलामी अर्पण गरिएको छ । पोखरा ५ मालेपाटनमा बुधवार ड्युटीकै क्रममा बोलेरो जीपले ठक्कर दिँदा प्रहरी हवल्दार डम्बरबहादुर थारु र प्रहरी जवान चन्द्रबहादुर बगाले घाइते भइ उपचारका क्रममा ज्यान गएको थियो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रांगणमा गण्डकी प्रदेश प्रहरी प्रमुख तथा डिआइजी घनश्याम अर्यालको उपस्थितिमा शोक सलामीसहित श्रदाञ्जली व्यक्त गरिएको हो । डिआइजी अर्यालले प्रहरी संगठनको झण्डा ओढाई पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरे ।

इमान्दार र कर्तव्यनिष्ठ प्रहरी कर्मचारीलाई गुमाउँनु पर्दा नेपाल प्रहरी संगठनलाई क्षति पुगेको डिआइजी अर्यालले बताए । शोक सलामी कार्यक्रममा संघीय प्रहरीइकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख लगायतको उपस्थित थिए ।

मोटरसाइकलमा गस्तीको क्रममा बागलुङ बसपार्कबाट जिरो किमी जाने क्रममा सोही दिशाबाट आउँदै गरेको बलेरो जीपले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते दुवै जनाको उपचारको क्रममा मृत्यु भएको थियो । बर्दिया बढैयाताल का ३४ वर्षीय प्रहरी हवल्दार थारु २०६२ असारमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

पाल्पा रिप्दिकोट गाउँपालिका ८ घर भएका प्रहरी जवान बगाले २०७६ साउन १ गते देखि नेपाल प्रहरीमा संगठनमा प्रवेश गरेका थिए । दुवै जना वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७