साहुकार शिवजी यादवसहित तीन जनाविरुद्ध प्रशासनमा उजुरी


९ भाद्र २०७७, मंगलवार
Shivaji Yadav.jpg .2020 08 23

सिरहा, ९ भदौं । भारत पुर्‍याई महिनौँ काम गरेका मुसहर युवामाथि आर्थिक शोषण गर्ने सिराहाको औरही गाउँपालिका– ५ औरहीका शिवजी यादवसहित तीनजनाविरुद्ध उजुरी परेको छ ।

पीडितमध्ये औरही गाउँपालिका– ४ का महेश सदा, फुलोदेवी सदा र रामचन्द्र सदाले सोमबार जिल्ला प्रशासन कार्यालय सिराहामा उजुरी दर्ता गराएका छन् ।

कामका लागि हरियाणा र पन्जाब पुर्‍याइएकालाई घर फर्कंदा बक्यौता छ भन्दै कुटपिट गर्ने, काम गर्न नसकेर घर फर्किएकालाई बन्धक बनाएर कपाली तमसुक बनाएको आरोपमा पीडितले प्रशासनमा उजुरी दर्ता गराएका हुन् । प्रशासनले उजुरी दर्ता गरी छानबिन गर्न जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाएको छ । बाबुको किरियापुत्री बसेका महेश भने प्रशासन कार्यालय गएका थिएनन् ।

उजुरीमा मुसहरमाथि भएको आर्थिक र शारीरिक उत्पीडनको छानबिन गरी कारबाही र क्षतिपूर्तिको माग गरिएको छ । यसबाहेक उजुरीमा औरही– ५ का ४५ वर्षीय शिवजी, ४० वर्षीय रामबाबु यादव र ३५ वर्षीय भागवत यादवको विषयमा छानबिन तथा कारबाहीको माग छ । उजुरीमा दलित समुदायप्रति योजनाबद्ध रूपले शोषण गरेकाले उनीहरूको सम्पत्तिको स्रोत छानबिन गर्न पनि माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहामा सोमबार शिवजी यादवसहित तीन जना विरुद्ध उजुरी दर्ता गराउन गएका औरही ४ इँटाटार गाउँका रामचन्द्र सदा र फूलोदेवी सदा र दर्ता गरिएको उजुरी
घरघरमै ‘राम्रो पैसा दिन्छु, आठ घन्टा मात्र ड्युटी हुन्छ’ भन्दै फकाएर भारत पुर्‍याउने गरेको, जानुअघि घरखर्चका लागि दिने थोरै रकमबापत पन्जाबको सेलर मिलमा थुनिने गरेको उजुरीमा छ । ‘आवश्यक सामान लिन बजार जान खोजे गालीगलौज, कुटपिट गर्ने, आवश्यक सामग्रीहरू उनीहरूले नै ल्याएर दिने, १० रुपैयाँको सामानलाई २५ रुपैयाँसम्म लिने गर्छ,’ उजुरीमा छ ।

महिनौंसम्म काम गरेर घर फर्किने वेलामा रित्तो हात फर्किनुपर्ने, हिसाब गरेर उल्टै बक्यौता देखाउने, जानुअघि लिएको घरखर्च पनि बक्यौता देखाएर जबर्जस्ती ३६ प्रतिशतका दरले कपाली तमसुक बनाउने गरेको उजुरीमा छ ।

‘तमसुक नबनाउँदा रकम दिइहाल भन्दै कुटपिट गर्ने, नेता, ठेकेदार पनि भएकाले गाउँघरका मानिसले पनि उसैलाई साथ दिने के गर्ने प्रभु, अब त मर्नेबाहेक अरू कुनै विकल्प देख्दिनँ, त्यही भएर न्याय गरिदिनुस्,’ उजुरीमा छ ।

दैनिक १२ देखि १६ घन्टासम्म जोखिमपूर्ण काम गर्दा पनि मजदुरले पाउने अधिकार कुण्ठित गर्ने गरेको उजुरीमा छ । घरका महिलालाई पनि अश्लील गालीगलौज गर्दै समुदायकै केही दलाल लगाएर कुटपिट गर्ने गरेको पनि उजुरीमा छ । इँटाटार गाउँका २० वर्षीय रामभजन सादलाई शिवजीले पन्जाबमा काम लगाइदिन्छु भन्दै १५ महिनाअगाडि लगेको र एक वर्षदेखि बेपत्ता रहेकाले खोजीको माग गरिएको छ ।

राजनीतिको आडमा विपन्न मुसहर समुदायमाथि चरम शोषण गरेको आरोप लागेका शिवजीले साहुबाट लिएको रकम लगानी गरेर मजदुरलाई पनि दिने र आफूले पनि कमाएर खाने गरेको बताए ।

‘गलत थिएँ भने २० औँ वर्षदेखि गरिबको, दलितको नेता हुन्थिनँ,’ उनले भने, ‘भारतमा नेपाली मजदुरलाई काम लगाउने ३२ जना ठेकेदारको अध्यक्ष हुँ म । त्यहाँ मजदुरहरूको युनियन छ । श्रम शोषण भएको भए त्यहाँ पनि छलफल हुन सक्थ्यो नि !’

शिवजीको ठगीधन्दाबाट औरहीसहित छिमेकी गाउँ पिप्रा, तुलसीपुर, हरकट्टी, बरियारपट्टी, जमुवा, बडहरी, सिराहा, लहान, गोलबजार डोहटिया, महनौर बेतौना, सोठियाइनका सयौं मुसहर पीडित रहेको राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कबुली पासवानले बताए । नयाँ पत्रिका दैनिकबाट

1 7
2 7
3 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७