‘गाईको पुच्छर समाउँदा बैतरणी तर्ने बाबु, छोराछोरीले लाशको अनुहार हेर्दा कसरी पर्छ अगति ?’


१२ भाद्र २०७७, शुक्रबार
article


गाईको पुच्छर समाउँदा गति परिन्छ, वैतरणी नदी तरिन्छ र स्वर्ग पुगिन्छ भन्नेहरूले आफ्नै छोराछोरीले मरेको बाबुको लाशको अनुहार हेर्दा अगति परिन्छ, स्वर्ग जाने बाटै थुनिन्छ भनेर आफूलाई जन्म दिने बाबुको लाशको अनुहार हेर्नसम्म नदिनु धर्म कि पाप हो ?

यस्तो आत्मा हराएको मुर्दा धार्मिकताले समाजमा मान्छेको मनोभावनालाई निर्ममताका साथ क्षतविक्षत बनाएको छ । कसैलाई कथित ठूलो जात हुनुकै कारण गर्व छ । कसैलाई कथित सानो जात हुनुकै कारण अभिषाप छ । हिन्दु जात व्यवस्था हिन्दु सम्प्रदायको कलंक हो । जात व्यवस्थाको ढोंग पालेर समाजमा कथित ठूला र शिक्षित भनिएका मान्छेहरूले मान्छेलाई जातको आधार कथित सानो बनाएर हिंस्रक सिंहले जस्तो सिकार गरिन्छ ।

बिषालु सर्पले जस्तो डसिन्छ । गोहीले जस्तो चपाइन्छ । अनि गोहीकै आँशु झार्दै भनिन्छ मान्छे सबै एउटै हो । काटे रगत रातो नै आउँछ । रातो रक्तकोष भएका जीवहरूको रगत रातो नै हुन्छ । त्यसैले रगत रातो हुनुमा दुईमत रहेन । तर रगत रातो बग्ने शरीरको नशा नशामा विखण्डनकारी शासकीय चेत र कथित ठूलो जातको दम्भ बग्नु र त्यस्तै व्यवहार देखाउनु कतिसम्म मानवीयता हो ?

मान्छे मान्छे एउटै हो काटे रगत रातो नै आउँछ । जातको आधारमा विभेद गर्नु हुन्न हामी सबै मान्छे हौ । हामीले मान्छेलाई मान्छेको व्यवहार गर्नुपर्छ भन्ने हाम्रो समाजका ठूलाठूला मान्छेहरूले आफ्नो घरमा कथित सानो जातको मान्छे आयो भने आँगनमा पिरा दिएर तातोपानी दिएको त्यो हदैसम्मको घटिया व्यवहारको दृष्य देखेका छौ, भोगेका छौ । कथित सानो जातको घरमा विहेकार्जे भयो भने ठूला जातकालाई छोइछिटो नहुने गरी फाल्टै भान्साको व्यवस्था गरिदिनु पर्ने ।

त्यसरी भान्साको व्यवस्था मिलाई दिएन भने कथित सानो जातको विहेकार्जे कथित ठूला मानिएका जातले बहिष्कार गरिन्छ । कथित ठूला जातको घरमा विहेकार्जे भयो भने सानो जातका मान्छेलाई छोइछिटो नहुने गरी अलगै राखिन्छ र खानपिन गरिन्छ । यसरी चलेको हाम्रो समाज मिलेर बसेको छ भन्नेहरू हिन्दु अतिवादीहरू हुन् । नेपाली समाज मिलेर बसेको छैन । सहेर सहेर बसेको छ ।

विवाह आफ्नो जीवन व्यवस्थित गर्न अपनाउने एक सामान्य जस्तो देखिन्ने तर जटिल विधि हो । जहाँ आफ्नो जीवन व्यवस्थापन गर्नको लागि आफूले आफ्ना लागि जोडी छनोटको स्वतन्त्रता हुन्छ । जोसँग वैवाहिक जीवन जोडिंदा सहज जीवन जिउन सकिन्छ त्यहि मान्छेलाई आफ्नो जोडी छान्ने स्वतः अधिकार हुन्छ । तर विवाह यसरी सहज कहिलै बनाइएन विभिन्न बन्धनले बाँधियो ।

विवाहको विभिन्न बन्धनहरू मध्य एउटा कसिलो बन्धन हो जातको बन्धन । यस बन्धनले धेरै प्रेमिल जोडी र श्रीमान श्रीमतीको हातखुट्टा बाँधेर संस्कारको धारले घाँटी रेटीरेटी निर्मम हत्या गरिंदै आएको छ । कति छोरा बुहारीलाई घर निकाला गरिएको छ । आफ्नै छोरालाई जात घटाऊ कार्वाही गरेर जबरजस्त कथित सानो जात बनाइएर अछूत बनाइएको छ । पानीबाट काडिएको छ ।

कति छोरी ज्वाईलाई बहिष्कार गरिएको छ । जात नमिल्नेसँग विवाह गरी भनेर कति छोरीहरूको जिउँदै काजकिरिया गरिएको छ । सानो जातसँग विवाह गर्ने वितिकै जिउँदो मान्छेलाई मुर्दा घोषणा गर्ने हाम्रो समाज विज्ञान र प्रविधिको युगलाई कसरी पछ्याउँदैछ ? मज्जाले महसुस गर्न सकिन्छ । हाम्रो सामाजिक धरातलको असली रूपरेखा कहाँ छ भनेर ।

भौतिक शरीर सकिएपछि मान्छेले संसारका सबै चिज छोडेर जान्छ यस कुरा ध्रुव सत्य पनि हो । तर विडम्बना कथित जातको ढोंग, मान्छे मरेर जाँदा पनि सँगै लिएर जाँदो रहेछ किन कि मरेको बाबुको मुर्दालेसम्म आफ्नै छोराछोरी सानो जातकोसँग विवाह गरिस् भनेर बहिष्कार गर्दाेरहेछ । यस्ता घटना असंख्य घटेका छन् । तीमध्ये पूर्वी नेपालमा अहिले अन्तरजातीय विवाहको कारण आफ्नै बाबुको लाशको अनुहारसम्म हेर्न नदिएर बाबुको काजकिरिया गर्न छोराछोरीलाई बञ्चित गरिएको प्रतिनिधिमुलक घटनाले अहिले सञ्चार माध्यम तातेको छ ।

इलाम जिल्ला माइ नगरपालिका–२ कि यामकला आचार्यले १२ वर्ष पहिले रत्नबहादुर विश्वकर्मासँग विवाह गरिन् । सामाजिक बहिष्कारणमा परिन् । पछि आफ्नो बाबु मर्दा माइती (दिदीबहिनी सँगै काजकिरिया गर्न त परैको कुरा बाबुको लाशको अनुहारसम्म हेर्न दिइएन । ताप्लेजुङ जिल्ला सिदिङवा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षेत्रीले फूलमाया विश्वकर्मासँग विवाह गरे । राजिन्द्र बुढाक्षेत्रीको जात च्युत गरियो । आफ्नो बाबुको काजकिरिया गर्नबाट बञ्चित गरियो ।

नेपालको कानुनले जघन्य अपराध मानेको यस्तो अमानवीय घटनालाई लिएर समाजिक सञ्जालमा बहस दुई कित्तामा बाँडिएर तातेको छ । एक कित्ता भन्छन्–काजकिरिया गर्न आफ्नो व्यक्तिगत इच्छा र धार्मिक संस्कारको कुरा हो । कसैले छुन पाइँदैन हेर्न पाइँदैन भन्नु आफ्नो अधिकारको कुरा हो । अरूको टाउको दुखाई व्यर्थै किन ? यसरी बलजफ्ती कुरा गरेर आफ्नो कुरूप संस्कारको ढोंग पाल्नेहरू एकातिर छन् भने अर्कातिर यो क्रियाकलाप सोह्रै आना गलत भन्नेहरू छन् ।

मान्छेलाई धर्म, संस्कारको आड भरोसामा सानो जात होस् भनेर विभेद गर्नु सोह्रै आना गलत छ । आफ्नै छोरीछोराले जन्मदिने बाबु–आमाको काजकिरिया गर्न पाउने त परैको कुरा बाबु–आमाको मरेको लाशको अनुरहारसम्म हेर्‍यो भने अगति पर्छन् । लाश छोयो भने आत्मा नै भड्किन्छ, स्वर्ग जाने बाटो थुनिन्छ, नर्कमा बाँस हुन्छ भन्नु महामुर्खता हो ।

यो हदैसम्मको मुर्खताले भरिएको मान्छेको धार्मिक संस्कार मानव जीवनकै कलंक हो । यसलाई त्यागेर माया, सद्भावसहितको सहअस्तित्वपूर्ण समाजको निर्माण गर्नु आजको अनिवार्य आवश्यकता हो ।

हिन्दु सम्प्रदायमा सकारात्मक कुराहरू धेरै छन् तर आफैमा ठूलो पनि ढोंग छन् । यस ढोंगले हिन्दु धर्म संस्कार नै कुरूप बनाएको छ । यसो हुनुमा हिन्दु धर्मशास्त्रमा लेखिएको गलत विधिविधान र त्यस गलत कुराको अनुशरण गर्नु हो । धर्मशास्त्रमै गलत लेखिएको कुरा अनुशरण गर्नु आफैमा पटमुर्खता हो ।

यहि पटमुर्खताले नै हो इतिहासको सबैभन्दा कुशल शासक भगवान श्रीरामले वर्ण व्यवस्थालाई आधार मानेर शुद्र तपश्वी शम्बुकको सानो जात भएकै कारण फाँसी दिएर निर्मम हत्या गरेको । अब कसरी मानौं श्रीराम भगवान हुन भनेर ? पढे लेखेका विद्वान ऋषिले सति पुराणको रचना गरेर पुरूष भन्दा दशकौ दशक कान्छी श्रीमती ल्याएर भोग गर्ने आफ्नो मृत्यु पश्चात आफूसँगै श्रीमतीलाई जिउदै जलाउने मार्ने । यसको अर्थ हो आफूदेखि बाहेक अरू पुरूषसँग भोग गर्न नपाओस् भन्ने नै हो ।

कसरी हुन्छ आफू अनुकूल हुने गरी नियोजित लिखित विधिसम्मत मान्छेले मान्छेलाई क्रुर व्यवहार गर्ने ब्राह्मणवादी चिन्तकहरूको हाम्रो समाजमा हालसम्म पनि गहिरो दबदबा छ ।
धर्मशास्त्रमा लेखेरै ‘जुन शुद्रले आफ्नो श्रीमती ब्राह्मणको सेवामा पठाउँछ त्यो शुद्र मात्र अन्न भोजन गर्न योग्य हुनेछ यदि शुद्रले आफ्नो श्रीमती ब्राह्मणको सेवामा पठाउँदैन भने त्यो शुद्र अन्न भोजन गर्न योग्य हुने छैन’ यसरी धर्मशास्त्रमै लेखेर शुद्रको श्रीमती भोग गर्दा छोइछिटो नलाग्ने । अरू सबै कुरामा छोइछिटो लाग्ने ? यो कुन खालको धर्म संस्कार हो ? यस्तो पनि हुन्छ धर्म–संस्कार ? प्रश्न यहाँनेर छ ।

आफू जस्तै मान्छेलाई धर्तीमै नर्कमा थुनेर आफू स्वार्ग जाने बाटो खोल्न निरन्तर धर्म कर्म गर्ने कथित छुत भनिएका मान्छेहरू एउटै ब्रह्माण्डमा बस्ने कथित छुत मान्छे र अछूत मान्छेको लागि तिमीले भनेको स्वर्ग अनि नर्क पनि फरक–फरक छ र ?

सचेत वर्गले यसरी तर्कसंगत न्यायपूर्ण कुरा उठाउँदै गर्दा धेरै मान्छेको मुखबाट कुरा निस्कन्छ । यस्तो कुरा गर्‍यो भने जातीय द्वन्द्व भड्किन्छ र सामाजिक सद्भाव विथोलिन्छ । कोही मान्छेले यसो भन्छ भने उ ठूलो ढोंगी हो । उसले जात व्यवस्था ठिक छ र जातको आधारमा भएको उत्पीडन ठिक छ भन्नु हो ।

समाजको एउटा सदस्यलाई जातको आधारमा सधै दम्भी पैतालाहरूले कुल्चेको कुल्चै गरेर भुइँ भन्दा माथि उठ्नै नदिनु चाहिँ जातीय मेलमिलाप र सामाजिक सद्भाव हो ? कि हाम्रो समाजको समृद्ध संस्कार हो ? जात व्यवस्था आफैमा गलत छ ।

गलत कुराको खण्डन गर्दा जातीय द्वन्द्व भड्किन्छ भन्नु, सामाजिक सद्भाव विथोलिन्छ भन्नु सूर्यलाई आफ्नो हत्केलाले छलेर आफूले सूर्यलाई नदेख्नु र सूर्यले आफूलाई शिरदेखि पाउसम्म देख्नु जस्तै हो । जात व्यवस्था मानव सभ्यताको सबै भन्दा ठूलो महामारीपूर्ण भाइरस हो । जात व्यवस्था सधैको लागि अन्त्य गरिनु पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७