आफैले लेखेको गीतमा वामदेव गौतमकाे ‘मोडलिङ’ (भिडियोसहित)


१२ भाद्र २०७७, शुक्रबार
bamdev gautam

काठमाडौं, १२ भदौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमको गीतको भिडियो ‘यो बुद्ध भूमि’ सार्वजनिक भएको छ । यसअघि दर्जनौ गीत सार्वजनिक गरेका गौतमले नयाँ गीत ‘बुद्ध भूमि’ सामाजिक सञ्जालबाट सार्वजनिक भएको हो ।

गीतमा राष्ट्रभक्ति प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कला संस्कृतिको बारेमा वर्णन गरिएको छ । गौतमका शब्दमा शम्भुजित बाँस्कोटाले संगीत भनेका छन् भने एरेन्जमा मनोहर सुनामको मेहनत रहेको छ ।

गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुन् । गीतमा रोशनराज गुरुङ ,माण्डवी त्रिपाठी र अंजना गुरुङलगायतको स्वर रहेको छ । दीर्घ गुरुङले खिचेको गीतलाई जीवन थापाले सम्पादन गरेका छन् । गीतको भिडियोमा उपाध्यक्ष गौतम समेत देखिएका छन् ।

गीतकार गौतमले आफ्ना ४३ गीतलाई गीति संग्रह प्रकाशनमा समेत ल्याएका छन् । संग्रहमा सार्वजनिक भएका र सार्वजनिक हुन बाँकी सबै गीत समावेश गरिएको छ ।

लोकतन्त्र आएपछि नयाँ राष्ट्रिय गीतको खोजी भएपछि गौतमले गीत लेख्न थालेका हुन् । उक्त समयमा गौतमले ‘प्राण प्यारो देश नेपाल’ बोलको गीत सिर्जना गरेका थिए । उक्त गीत छनोट भने भएको थिएन ।

विद्यालयस्तरदेखि नै गीत संगीत र कवितामा रुची राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पुरा भएको बताएका छन् । ‘छन्द कविता र गीति लेखन मेरो जीवनको प्रारम्भकालीन रुचीका विषय थिए’, गौतम भन्छन्, ‘विद्यालय जीवनदेखि नै म कविता प्रेमी हुँ ।’

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७