लहरीको ठक्करले टेम्पु चालकको मृत्यु


१३ भाद्र २०७७, शनिबार
Bus accident दुर्घटना 1

महोत्तरी, १३ भदौं । पूर्व­पश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने बर्दिवास नगरपालिका–१ मा भारतीय लहरी (ट्रकजस्तै लामो गाडी) को ठक्करले एक टेम्पो (अटो) चालकको मृत्यु भएको छ ।

बर्दिवासचोकमै रोकिराखेको ना ३ स २३६१ नम्बरको टेम्पोलाई आरजे ०२ जिवी ३३४७ भारतीय नम्बरको लहरीले ठक्कर दिँदा बर्दिवास–१ कै बासिन्दा ४० वर्षीय टेकनारायण श्रेष्ठको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो । मृतक श्रेष्ठ टेम्पो चालक रहेका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।

बिग्रेर रोकिएको लहरीलाई चलाउन पछाडिबाट ठेल्ने क्रममा ओरालोतिर हुइँकिएर सडक छेउमा रोकिराखेको टेम्पोलाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

घाइते भएका श्रेष्ठलाई तत्काल बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा पुर्‍याइएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । लहरी र त्यसका चालक भारतीय नागरिक अरबिनकुमार बलायतलाई नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक साहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७