केन्द्रीय कारागारका ५६ प्रहरी र ५० कैदीमा कोरोना


१६ भाद्र २०७७, मंगलवार
nakkhu karagar

काठमाडौं, १६ भदौं । केन्द्रीय कारागारमा पनि कोरोना संक्रमण फैलिएको छ । आइतबार धेरै संख्यामा प्रहरी तथा कैदीबन्दीमा संक्रमण पुष्टि भएको छ ।

कारागार व्यवस्थापन विभागका अनुसार आइतबार ३५ जना कैदीबन्दीको पोजेटिभ रिपोर्ट आएको छ । ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि कैदीबन्दीको परीक्षण गरिएको थियो । योसँगै केन्द्रीय कारागारमा संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको छ । दुई जना निको भएको विभागका महानिर्देशक द्रोण पोख्रेलले बताए ।

त्यस्तै, कारागारको सुरक्षामा खटिएका ५६ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । प्रहरीबाट नै जेलभित्र संक्रमण भएको आशंका गरिएको छ । कारागारको महिला सेलमा गत साता एकै पटक सयजनाभन्दा बढीमा कोरोनासँग मिल्दो लक्षण देखिएको थियो । त्यसपछि परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

केन्द्रीय कारागारमा तीन हजार एक सय कैदीबन्दी छन् । सोमबारसम्म दुई सय ५० जनाको मात्र परीक्षाण भएको छ । धेरैमा संक्रमण देखिएपछि अन्यमा पनि त्रास बढेको छ । केन्द्रीय कारागारमा दीर्घरोग भएका कैदीबन्दीको संख्या पनि धेरै छ । थप कैदीबन्दीको परीक्षण गराउने कारागार कार्यालयको तयारी छ ।

अन्य जेलमा पनि संक्रमण बढिरहेको छ । झुम्का, सिराहा, पर्सा, सिन्धुपाल्चोक, स्याङ्जा, बाँकेका कारागारमा यसअघि संक्रमण देखिएको थियो । लकडाउन सुरु भएयता जेलमा भेटघाट बन्द भए पनि अदालत तथा अस्पताल लैजाने क्रममा संक्रमण भएको जनाइएको छ । कतिपय अवस्थामा प्रहरीबाट जेलभित्र संक्रमण भएकोसमेत आशंका गरिएको छ ।

जेलभित्र संक्रमण बढेपछि केही समयका लागि कैदीबन्दीलाई छाड्नुपर्ने माग समेत उठ्न थालेको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सांसदहरूले कागज गराएर केही समयका लागि छाड्न प्रस्ताव गरेका हुन् ।

७५ प्रतिशत कैद भुक्तान गरेकालाई निगरानीमा राखेर छाड्न सकिने कानुनी व्यवस्था छ । त्यसलाई कार्यान्वयन गर्न १७ वैशाखमा सर्वाेच्च अदालतले समेत आदेश दिएको थियो । गृह मन्त्रालयले पनि यसबारे छलफल थालेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७