बागलुङ बाढी–पहिरो : मृत्तक १४ मध्ये चार जनाको सनाखत, २४ जना अझै वेपत्ता


१९ भाद्र २०७७, शुक्रबार
baglun2

बागलुङ, १९ भदौं । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ ।

पहिरोमा परी २४ जना बेपत्ता छन् । शव सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुनेछ । घटनामा बेपत्ताको आज बिहानैदेखि खोजी शुरु भएको रेग्मीले बताए । रातको समयमा खसेको पहिरोमा परि धेरैले ज्यान बचाउन नसकेका हुन् ।

केही मानिसले भागेर ज्यान बचाएका थिए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । कति अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।

पहिरोले फलेघर र सुपुर्दुङका दजर्न बढी घर बगाएको छ भने वडा नं ८ सम्म आइपुग्दा ४० घर बगेका छन् । अधिकांश घरको भग्नावशेष समेत देखिएको छैन । बस्ती भएको स्थानमा अहिले खोला बगेको छ । ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि बाढी चल्दा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७