अर्थमन्त्री खतिवडाले दिए राजीनामा

‘सुधारका कैयौं काम भएका छन्, म नभए पनि निरन्तरता दिनुहोला’


१९ भाद्र २०७७, शुक्रबार
Pro Ktm

काठमाडौं, १९ भदौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज (शुक्रबार) पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफूले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको खतिवडाले बताएका छन् । खासगरी भ्याट फिर्ता खारेजीको निर्णयलाई अर्थमन्त्रीले सफल निर्णय मानेका छन् । यसअवधिमा खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेख्य सुधार भएको प्रतिक्रिया अर्थमन्त्रीले दिएका छन् ।

बिदाइको क्षणमा समेत अर्थमन्त्रीमा पद गुमेको भाव भने नझल्किएको अर्थमन्त्रालयका एक सहसचिवले बताएका छन् । मन्त्री खतिवडाले आफूले जग बसालेर बिदाइ भए पनि त्यसलाई निरन्तरताको जिम्मेवारी कर्मचारीमा रहेको समेत बताएका छन् । अर्थमन्त्री खतिवडा साढे दुई वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।

‘सुधारका कैयौं काम भएका छन्, म नभए पनि निरन्तरता दिनुहोला’
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफूले अर्थतन्त्रको सुधारको लागि धेरै राम्रा कामको शुरुवात गरेको दाबी गरेका छन् ।

अर्थ मन्त्रालयमा शुक्रबार कर्मचारीसँगको बिदाइ कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले अर्थतन्त्र सुधार र वित्तीय अनुशासनको लागि धेरै सुधारको जग बसाएको र यसलाई निरन्तरता दिइरहन उनले आग्रह गरेका हुन् ।

बिदाइ कार्यक्रममा मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर, लगानी बोर्डका सीईओ, केही सहसचिव, भन्सार विभागका महानिर्देशक, महालेखा नियन्त्रकलगायत सहभागी थिए । अर्थमन्त्री खतिवडाले अर्थतन्त्र कमजोर भएको र वित्तीय अनुशासन ओरालो लागेको बेलामा आफू आएको र सबै कर्मचारीको साथले सुधारको जग बसाल्न सकिएको भन्दै कर्मचारीलाई धन्यवाद पनि दिएका छन् ।

‘म अफ्ठ्यारो बेलामा अर्थमन्त्री बनेको तपाईहरू सबैलाई थाहा नै छ, धेरै सुधार गरेका छौँ, केही विषय सुधार गर्न खोज्दा सबैतिरबाट साथ पाइएन तर हामीले शुरु गरेका सुधारलाई म नभए पनि निरन्तरता दिनुहोला’, खतिवडाको भनाइ उधृत गर्दै एक सहसचिवले भने ।

राष्ट्रिय सभा सदस्यमा नेकपाले खतिवडाको नाम नदोहोर्‍याउने र वामदेव गौतमलाई लैजाने निर्णय गरेपछि खतिवडाको पदावधि भोलि शनिबार सकिँदैछ । भोलि शनिबार भएकाले खतिवडाले शुक्रबार साँझ नै राजीनामा दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७