विपन्न र बेरोजगार नेपालीलाई भारत छिर्नै महाभारत


२५ भाद्र २०७७, बिहीबार
IMG 20200907 160749.jpg .2020 09 10

काठमाडौं, २५ भदौं । ४४,६२,९६५ यो अंक भारतमा बुधबार रातिसम्म कोभिडबाट संक्रमितको संख्या हो । विश्वमा दोस्रो नम्बरमा रहेको भारतमा आजभोलि दैनिक ९० हजारका दरले संक्रमितको संख्या बढिरहेको छ । तर, कोभिड हटस्पट भारत छिर्न विपन्न र बेरोजगार नेपालीको हुल सीमाना पुगेको छ ।

तर, कहिले रासन कार्ड त कहिले आधार कार्ड मागेर भारतीय सुरक्षाकर्मीले रोकिरहेका छन् । सीमाबाट फर्काइए पनि नेपाली गाउँ फर्कन तयार छैनन् । बरु अर्को दिन छिर्ने प्रयास गरिरहेका छन् । कोही तीन दिन भयो, कसैको चार दिन । यसरी विपन्न र बेरोजगार नेपाली भारत छिर्ने महाभारतमा छन् ।

नेपालगन्जको जमुनाहा नाकामा भेटिए दैलेखेको गुराँस गाउँपालिका गोगनपानीका सन्तोष विक । भारत छिर्न तीन दिनदेखि जमुनाहा प्रयास गरिरहेका उनले नयाँ पत्रिकासँग भने, ‘जनताबाट उठेको कर छ, त्यो जनताको पैसा हो ।

त्यसको सदुपयोग भइदिएको भए नेपालमा असम्भव केही थिएन । हामीले यही देशमा रोजगारी पाउने थियौँ, विदेशीको गुलामी गर्न धाउनुपर्ने थिएन । घरमा बुढाबुढी बाबुआमा र सानो बच्चा छ । यो महामारीको वेला मलाई बिदा गर्दा ती आमा र त्यो बच्चाको आँखाबाट आँसु झरेको छ ।’ यति भनेर उनी धेरैबेरसम्म निःशब्द भए ।

हो, सन्तोष विकजस्ता हजारौँ युवाको यात्रालाई बाबुआमा, श्रीमती र बालबच्चाको आँसुको बाँधले रोक्न सकेको छैन । किनकि तिनै बाबुआमाको औषधि र बालबच्चाको भविष्यको चिन्ता गर्ने युवासँग देशमा रोजगारी छैन ।

त्यसैले भारतमा महामारी उत्कर्षमा छ भन्ने थाहा हुँदाहुँदै पनि उनीहरू उतै ओइरिएका छन् । विवश युवाहरूलाई आफ्नै घर परिवारले रोक्न सकेन, बरु भारतीय सुरक्षाकर्मीले रोक्छन् कि भन्ने डर छ । सन्तोष पनि तीन दिनदेखि नाकामै छन् । उनी कहिले छिर्न पाइने हो भन्ने अनिश्चित छ, तर यत्तिकै गाउँ फर्किइँदैन भन्ने त निश्चित छ ।

‘भारतमा महामारी छ भन्ने कसलाई थाहा छैन र ? तर, त्योभन्दा ठूलो महामारी घरमा छ । छोराछोरीको अनलाइन पढाइ सुरु भएको छ, तिनलाई भोकै राख्नु भएन । गाउँमा सहयोग मागौँ भने पनि सबैको अवस्था उस्तै छ । सरकारले आफ्नो कर्तव्य पूरा गरेन । तर, बुढाबुढी बाबुआमाप्रति हामीले आफ्नो कर्तव्य भुल्न सकेनौँ,’ दाङको शान्तिनगर धनौरीका रमेश डाँगीले भने ।

ज्यानको माया लाग्दैन ? सीमानातर्फ लागिरहेका यी युवालाई जोसुकैले सोध्ने प्रश्न यही हो । ‘आफ्नो ज्यानको माया त लाग्छ नि, तर साहुले माया गर्दैन,’ दैलेखबाट झरेका नन्दबहादुर खड्काको सोझो जवाफ छ । उनी भन्छन्, ‘यत्रो ६ महिना ऋण गरेर त खर्च चलाइयो, तर अब पैसा पाउन छाडियो, उल्टै साहुले पैसा माग्न र थर्काउन थाले । गाउँमा के मुख देखाएर बसिरहनु ?’

दैलेख दुल्लुका सुकदन परियार लकडाउनकै कारण मातृभूमि खोज्दै नेपाल आएका हुन् । भारतमा रोजगारी गुमेको थियो, कहिले टेम्पोमा, कहिले ट्र्याक्टरमा चढेर त कहिले हिँडेर सात दिनपछि उनी जमुनाहा नाका आइपुगेका थिए ।

नेपाल छिर्दा उनी जति खुसी थिए, अहिले भारत छिर्न पाइँदैन कि भनेर उनी त्योभन्दा बढी चिन्तित छन् । पाँच महिना गाउँ बसेपछि उनको टिप्पणी छ, ‘नेपाल सरकार आफैँ यति बेहाल छ भन्ने अनुमान थिएन ।’ चार दिनदेखि नाकामा रोकिएका उनी भन्छन्, ‘म त जति दिन लागे पनि भारत छिर्छु, तर मजस्ता अरू युवालाई सरकारले दुःख नदेओस् ।

प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँबाट निस्किएका नेपाली बाँकेको जमुनाहा, कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीमा जम्मा हुने क्रम जारी छ । कैलाली घोडाघोडी नगरपालिका–६ का गोरखबहादुर रोकाया त्रिगनर नाका पुगेका छन् । दशैं–तिहारको मुखमा बिदेसिन थालेका उनले भने, ‘अघिपछि यो वेला गाउँ आउने गथ्र्यौँ, तर यसपालि दसैँ–तिहारको अर्थ छैन । घरमा खर्च भए पो चाडपर्व हुन्छ ।’

त्रिनगरमा घोडाघोडीकै शेरबहादुर मगरलाई चाडपर्वप्रति कुनै आकर्षण मात्र होइन, रोगप्रति डर पनि हराएको छ । ‘रोग त कहिले–कहिले, भोकले आजभोलि नै मरिन्छ जस्तो भयो,’ उनले यति भनिरहँदा श्रीमतीको काखमा भएको बच्चा रोइरहेको थियो । बच्चालाई फकाइफुल्याई गरेपछि श्रीमती धना बोल्न अघि सरिन्, ‘चाडपर्वका वेला मात्र हो र ? अघिपछि पनि आफ्नो देश छाडेर जान कसलाई माया लाग्छ र ?’

आफ्नो देश, आफ्नो परिवार कति प्यारो हुन्छ भनेर यी नेपालीलाई जति कसलाई थाहा होला र ? ‘देश र परिवार भनेर त ज्यान हत्केलामा राखेर आइयो, गाउँ आएपछि पनि २८ दिन क्वारेन्टाइनमा बसियो । तर, पाँच महिनामा लकडाउन पालना गर्ने बाहेक केही गर्न सकिएन, त्यसैले निराश भएर भारत फर्कंदै छु,’ कैलाली टीकापुरका नरेश परियारले भने ।

श्रीमती र छोरासहित भारत जान लागेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ खोलीगाउँका नरेन्द्र थापा भने आइतबार अपराह्न नै जमुनाहा नाका पुगेका हुन् । उनी सुर्खेतबाट ट्रक चढेर एक सय १० किलोमिटर पार गरी बाँकेको कोहलपुर पुगे ।

त्यहाँबाट अटोरिक्सामा २० किलोमिटर पार गरेर नेपालगन्ज पुगे । त्यहाँबाट पनि अटोरिक्सामै सीमानाका जमुनाहा पुगेको उनले बताए । तीन दिनदेखि नेपालगन्जमै रहेको बताउँदै उनले भने, ‘नागरिकता देखाएर आउन दिएका थिए, उता जानका लागि आधार कार्ड छ । साह्रै दुःख भयो, पारी जान पाए आनन्द हुन्थ्यो ।’ कस्तो विडम्बना ! देशको नागरिकले परदेशको भूमि टेक्न पाए आनन्द हुन्थ्यो भन्नुपर्ने अवस्था छ ।

सुदूरपश्चिमी नाका गड्डाचौकीमा पनि त्यही पीडा बोकेर नेपालीहरू भारत गइरहेका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका–१० चतहरीका सिद्धार्थ आउजीले स्वदेशमा काम नपाएपछि परदेश जान लागेको बताए ।

‘म गत फागुनमा घर आएको हुँ । अहिलेसम्म बेरोजगार भएर बसेँ । यता काम नपाएपछि फेरि भारत फर्किन लागेको छु,’ उनले भने । दिल्लीको एक होटेलका काम गर्ने सिद्धार्थले बाध्य भएर महामारीका वेला भारत जान लागेको बताए । आफूसँगै काम गर्ने केही साथीभाइ गएको र केही जाने तयारीमा रहेको उनले सुनाए ।

भारतमा लकडाउन भएपछि कामविहीन भएका नेपाली मातृभूमिमा फर्किन नेपाली नागरिकताको प्रमाणपत्र देखाएर प्रवेशको अनुमति पाएका थिए । तिनै नेपाली ६ महिना नबित्दै कामका लागि भारत जानपाऊँ भन्दै भारतको आधार कार्ड देखाउँदै छन् ।

सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दैनिक औसत एक हजार नेपाली भारत गइरहेका छन् । पछिल्लो समयमा ५० हजार नेपाली भारत गएको प्रहरीको भनाई छ । हुन त लकडाउनयता भारतीय नागरिकलाई मात्रै भारत प्रवेशको अनुमति छ । तर, भारतीय आधार कार्ड भएका नेपाली सहजै गइरहेका छन् भने नभएका विभिन्न उपाय निकालेर नाका कट्ने संघर्षमा छन् ।

आधार कार्ड भएकालाई मात्र भारत जान दिइने भएकाले जमुनाहा नाकामा आधार कार्ड देखाएको सुर्खेतका नरेन्द्रले बताए । बाँकेका विकास र दैलेखका चेतन पनि आधार कार्ड बोकेर भारत जान लाइनमा बसेका थिए ।

तर, भारतको कार्ड नभएकाहरूले भने नाकामा दुःख पाइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले आधार र रासन कार्ड भएकालाई भारत जान दिने गरिएको बताए । ‘हामीले सीमा क्षेत्रमा नेपाल–भारत प्रवेशका लागि प्रमाण हेर्छौँ,’ डिएसपी थापाले भने, ‘त्यहीअनुसार जाने–आउने क्रम चलेको छ । तर, कागज नभएका नेपालीले भने दुःख पाएका छन् ।’

तपतप पसिना चुहाइरहेका युवा, बालबच्चा बोकिरहेका महिला, उभिँदा–उभिँदा खुट्टा दुखेर घोप्टो परेका बालबालिका । यी सबका लागि सबैभन्दा ठूलो शत्रु अब कोरोना होइन, बेरोजगारी हो । दुःखको कुरा बेरोजगारीसँग लड्न उनीहरू एक्लै छन्, साथमा सरकार छैन ।

त्यसैले यो विपत्को वेला उनीहरूको यो लावालस्कर भारततिर पलायन भइरहेको छ । भन्न त उनीहरुको भारत जान हिंडेका छन्, तर उनीहरुको असली गन्तव्य के हो, नियती के हो ? आजका दिनमा उनीहरु आफैलाई पनि थाहा छैन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७