६ महिनापछि आजदेखि देशभर लामो दूरीका यातायात सञ्चालन

होटल–रेस्टुराँसहित सबै व्यापार–व्यवसाय खुला, यी हुन् निषेध गरिएका पाँच गतिविधिहरु


१ आश्विन २०७७, बिहीबार
Buspark

काठमाडौं, १ असोज । लकडाउन, निषेधाज्ञाका कारण ६ महिनादेखि ठप्प भएको लामो दूरीका यातायात आज (बिहीबार) बाट सञ्चालन हुँदैछन् । गएको सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार आजदेखि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् । हिजो यसै विषयमा सरकारले यातायात व्यवसायीसँग छलफल समेत गरेको थियो ।

आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका छन् । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनु पर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नु पर्नेछ ।

यस्तै भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाइनेछ । खाजा र खाना खाने ठाउँमा पनि भौतिक दूरीको ख्याल गर्नु पर्नेछ ।

कोरोना संक्रमण बढ्न थाल्दा सरकारले चैत ११ मा लकडाउन लागू गरेर लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । बीचमा लकडाउन हटाइए पनि सार्वजनिक यातायात खुलाइएको थिएन । सरकारले असोज १ देखि सार्वजनिक यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय मंगलबार गरेको हो । सवारी साधनहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउनुपर्नेछ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले विश्वकर्मा पूजा गरेर गाडी चलाइने बताए । ‘६ महिनादेखि गाडी चल्न पाएका छैनन्,’ उनले भने, ‘लामो दूरीका गाडी तुरुन्तै चलाइहाल्न सकिने अवस्था छैन । प्राविधिक जाँच गराएर मात्र सञ्चालनमा ल्याइनेछ ।’

मध्यम र छोटा दूरीका सवारी सञ्चालनमा भने समस्या नभएको उनले बताए । ‘लामो समयदेखि थन्किएर बसेका गाडीका पार्टपुर्जा जाम भएर दुर्घटनामा पर्ने जोखिम हुन्छ,’ उनले भने, ‘त्यसैले क्रमशः मर्मत गर्दै सञ्चालनमा आउँदै जानेछन् ।’

यस्तै काठमाडौं पत्यकामा होटल–रेस्टुराँसहित सबै व्यापार–व्यवसाय पनि आज (बिहीबार) बाट सञ्चालन हुँदैछन् । काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेर सबै खालका उद्योग–व्यवसाय चलाउन दिने भएका हुन् ।

अत्यावश्यक र निर्माण सामग्री बाहेकका सवारीसाधनमा लगाइएको जोर–बिजोर प्रणाली भने कायमै रहनेछ । अब उपत्यका प्रवेश र बाहिर जान पनि पाइनेछ । ०७६ चैत ११ गतेबाट लगाइएको लकडाउन १२० दिनपछि साउन ६ गते अन्त्य गरिएको थियो । त्यसपछि होटल–रेस्टुराँ, पसल, कलकारखाना सञ्चालनलगायतका आर्थिक गतिविधि चलायमान हुँदै थिए ।

तर उपत्यकाका तीन वटै जिल्लामा कोरोना संक्रमण बढेपछि प्रशासनले अत्यावश्यक बाहेकका सेवामा भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो । भदौ २४ गतेबाट व्यापार–व्यवसाय सर्तसहित सञ्चालन अनुमति दिइएको थियो । होटल–रेस्टुराँलाई भने टेक–अवे र होम डेलिभरी सेवा सञ्चालन गर्न मात्रै आदेश दिइएको थियो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गृह मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्बाट भएका निर्णयसँग नबाझिने गरी निषेधाज्ञाको मोडालिटीमा हेरफेर गरिएको बताए ।

निषेधाज्ञाको नयाँ ढाँचा सार्वजनिक गर्नुअघि प्रजिअहरू काठमाडौंका जनकराज दाहाल, भक्तपुरकी हुमकला पाण्डे र ललितपुरका नारायणप्रसाद भट्टले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग छलफल गरेका थिए । ‘बिहीबारबाट आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर होटलररेस्टुराँलगायत सबै व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञाको स्वरूप परिवर्तन गरेका छौं,’ प्रजिअ दाहालले भने ।

यी हुन् निषेध गरिएका ५ गतिविधिहरु
१) काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनहरु नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गराउने गरी जोर–विजोर प्रणाली अन्तर्गत सञ्चालन गर्नुपर्नेछ तर अत्यावश्यक सेवा, कार्यालय आवत जावत र सबै प्रकारका ढुवानीका साधनको हकमा जोररविजोर प्रणाली लागू हुने छैन ।

२) खुल्ला स्थानमा मानिसहरु भेलाजम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सब, भोजभतेर आदि गर्न–गराउन ।

३) मठ मन्दिर, मस्जिद, चर्च लगायतका परम्परागत धार्मिक तथा साँस्कृतिक स्थलहरूमा दैनिक नित्यपूजा बाहेक भीडभाड जन्य गतिविधिहरु सञ्चालन गर्न–गराउन ।

४) शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम केन्द्र) सञ्चालन गर्नरगराउन साथै शैक्षिक तथा अन्य परिक्षाहरु सञ्चालन गर्न–गराउन ।

५) सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, मनोरजन स्थल, स्पा, सैलुन, व्यूटिपार्लर, स्वीमिङ्ग पुल, जिमखाना, हेल्थ क्लब समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, अन्तराष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल, प्रदर्शनी, पुस्तकालय, संग्रहालय, चिडियाखाना जस्ता क्रियाकलाप सञ्चालन गर्न र गराउन ।

‘५० प्रतिशत यात्रु लिएर उडान गर्न सक्दैनौं’
सिट क्षमताको आधा मात्रै यात्रु राखेर सेवा सञ्चालन गर्न वायुसेवा सञ्चालकहरूले मानेका छैनन् । सरकारले आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर उड्नुपर्ने नियम बनाएकोप्रति असहमति जनाउँदै आन्तरिक वायुसेवा सञ्चालक संघमा आबद्ध निजी वायुसेवाले तत्काल उडान सञ्चालन नगर्ने जनाएका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर बिहीबारदेखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको थियो । तर, संघमा आबद्ध निजी वायुसेवाहरूले यो व्यवस्थामा तत्काल उडान गर्न असमर्थ रहेको जानकारी गराउँदै बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, पर्यटन सचिव केदारबहादुर अधिकारी र नागरिक उड्डयन प्राधिकरणलाई नियमित उडान तत्काल नगर्ने भन्दै पत्र पठाएका छन् ।

संघका प्रथम उपाध्यक्ष अनोज रिमालले छिमेकी मुलुक भारतलगायत विश्वका अन्य मुलुकमा सामाजिक दूरी राखेर सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्ने नियम नभएकाले आफूहरूले सरकारको यो व्यवस्था नमान्ने बताए ।

उनले अन्तर्राष्ट्रिय उडानमा यो नियम नभएको बताउँदै त्यहाँ लागू गरिएको ७२ घण्टाको पीसीआर पनि पूर्ण विश्वास गर्न सकिने विधि नभएको दाबी गरे । ‘हामी मास्क, फेस सिल्ड दिन्छौं, शौचालय जान पाइँदैन, इन–फलाइट सर्भिस हुँदैन,’ यति एयरलायन्सका सीईओसमेत रहेका रिमालले भने, ‘स्वास्थ्यसम्बन्धी बनाइएका मापदण्ड पालना गर्दै उडान गर्दा संक्रमणको जोखिम अत्यन्त न्यून रहन्छ ।’

सरकारले कुल सिटको ५० प्रतिशत मात्रै यात्रु राख्दा अहिले भाडादर वृद्धि गरिदिने भनेको थियो । तर, व्यवसायीहरूले टिकटदर बढाउने विषयमा पनि असहमति जनाएका छन् । ६ महिनादेखि बन्द वायुसेवा उद्योगले ५० प्रतिशत मात्रै यात्रु राखेर उडान सञ्चालन गर्न नसक्ने जनाउँदै यो व्यवस्था खारेज भएमा मात्रै सेवा सुचारु गर्ने भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७