ओलीसँग बोल्न नसक्ने, मलाई मात्रै दोष ?


७ आश्विन २०७७, बुधबार
ser chndra SKKWNEKQNX

काठमाडौं, ७ असोज । मलाई मात्र गाली नगर, तिमीहरू ओलीसँग बोल्न सक्छौ ? ओलीलाई कहिल्यै गाली गरेका छौ ? मलाई मात्र त जसले पनि गाली गरिहाल्छ नि ! अझ अहिले त हाम्रै पार्टीका मन्छेले पनि ओलीलाई भन्दा बढी मलाई नै गाली गरेका हुन्छन् ।

धेरै ठूलो कुरा नगर्नु, चुनाव जितेर आउनु । जनता हुन् क्या ठूला जनता । जनतासँग जानु, चुनाव जितेर आउनु । अनि बल्ल ठूला कुरा गर्नु ।

गत बिहीबार प्रदेश ५ का नेता कार्यकर्तासँग कांग्रेसले जुम प्रविधिबाट अन्तरक्रिया कार्यक्रम राखेको थियो । त्यसमा सहभागी थिए सोही प्रदेशकै कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी । उनले पार्टी सभापतिमाथि अनेक तर्क गरे । उनले आफूले बोलिसकेपछि यसको जवाफ पहिला सभापतिले दिनुपर्छ अनि मात्र कार्यक्रम अघि बढाउनु पर्छ भने ।

त्यसपछि कस्सिए सभापति देउवा । ‘चन्द्र भण्डारीजी पनि यहीं हुनुहुन्छ नि ?’ देउवाले सोधे । ‘हो म यहीँ छु सभापतिज् यू, सुन्दैछु,’ भण्डारीको जवाफ आयो । ‘हो ? त्यसो भए ल सुन्नुस्, तपाईंलाई नै सुनाउन खोजेको,’ त्यसपछिको ४ मिनेट देउवाले भण्डारीले उठाएका प्रश्नको जवाफमै खर्चिए ।

देउवाको चार मिनेट भाषण गर्ने समय पनि लामै हो । अनि उनले कांग्रेसजस्तो प्रतिपक्षी दलका नेता भएर प्रधानमन्त्री केपी ओलीभन्दा आफूलाई बढी गाली गरेकामा आश्चर्य व्यक्त गरेका थिए । पहिला महाधिवेशन सार्न खोज्यो भनेर गाली गरे, अहिले यस्तो महामारीको बेला कहाँ महाधिवेशन हुन्छ, सार्नुपर्छ भनेर पनि आफूलाई नै गाली गरेको बताए ।

उनले भण्डारीलाई ठूलो कुरा गर्ने होइन, चुनाव जितेर आउनू भन्दै पटक–पटक चुनौती दिए । भण्डारी गुल्मीबाट पटक–पटक हारेका नेता हुन् । उनको र वर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निर्वाचन क्षेत्र एउटै हो । उनी पछिल्लो र त्यसअघिको निर्वाचनमा पनि हारेका थिए ।

कार्यक्रम कांग्रेसको कोरोना अनुगमन समितिले आयोजना गरेको थियो । शुरुमै ५ नम्बर प्रदेशका तर्फबाट बोल्ने पालो भण्डारीको राखिएको थियो । जब भण्डारी शुरुमै बोलेर देउवालाई तताए र देउवा ताते, त्यसपछिको माहोल बिग्रिएको थियो । त्यसपछिको माहोल थाम्न कार्यक्रमका प्रमुख आयोजक कोरोना अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतलाई हम्मेहम्मे परेको थियो ।

आफूले बोल्ने क्रममा भण्डारीले चाहिँ कांग्रेसभित्र विधि र विधानको कुरा धेरै उठाएका थिए । पार्टी अध्यक्षले देशलाई शीर र जनतालाई काखमा राखेर सैद्धान्तिक रूपमा ड्राइभ गर्न नसकेकोसम्म भनेका थिए । उनले भने, ‘यो पार्टी र नेतालाई सम्मान गर्न हामी सक्छौं सभापति ज्यू, हामीलाई जिम्मा दिनुस् हामी आधुनिक प्रविधिको प्रयोग गरी महाधिवेशन सम्पन्न गरेर देखाउँछौँ ।’

त्यसपछि तातेका देउवाले भने, के ठूलो कुरा गरेको ? महाधिवेशन हुँदैन, गर्न सक्दैनौं कसले भनेको छ ? हुन्छ भन्दाभन्दै किन मलाई नै गाली ?’ देउवाले भने, पार्टीमा अनशन बस्छौँ रे । मेराविरुद्ध बस्ने कि ओलीविरुद्ध ? आफ्नै पार्टीविरुद्ध अनशन ? (जनआस्था साप्ताहिकबाट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७