नेपालगञ्जको ‘वाटर पार्क’ छिट्टै सञ्चालनमा आउने


१३ आश्विन २०७७, मंगलवार
water park
pokhabra

नेपालगञ्ज, १३ असोज । नेपालगञ्जको धम्बोझी-१ स्थित वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउ नौकाविहारका लागि प्रयोगमा ल्याइएको छ । ‘नौका विहार, चमेना गृह र माछापालनका लागि ठेक्का समेत भइसकेकाले केही दिनभित्र सञ्चालनमा आउने छ’, उनले भने ।

तलाउलाई पौडी पोखरीका रुपमा समेत विस्तार गरिएको छ । पार्कमा आकर्षक र मनमोहक फूलबारी, चिल्ड्रेनपार्क, व्यापारी प्रयोजनका पसलकोठा लगायतका संरचना निर्माण भएका छन् । यसैगरी वाटरपार्क क्षेत्रभित्र १६ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण गरिएको छ । यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिएको छ ।

नेपालगञ्जको वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको थियो । २०६५ सालमा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलिएको थियो ।

जग्गा अधिग्रहणमा कुरा मिलेपछि समग्र निर्माणको कामले अहिले गति लिएको छ । जग्गा अधिग्रहण गरिएकालाई अहिले अस्थायी जग्गाधनी पूर्जा वितरण भइरहेको छ । ‘यो योजनाको अनुमानित लागत रु ७० करोड हो । अबको दुई वर्षभित्र पार्क क्षेत्रको निर्माण सक्ने हाम्रो लक्ष्य छ’, नेपालगञ्ज नगर विकास समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख डा. धवलशम्शेर राणाले भने ।

पश्चिम नेपालकै नमूनाका रुपमा रहेको वाटरपार्क निर्माणमा बजेटको निकासा रोकिएन र अन्य व्यवधान आएन भने समयभित्रै निर्माण सक्ने समितिको लक्ष्य छ । निर्माणको काम छिटो सक्न पाँच वटा ब्लक खडा गरिएको छ ।

प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ । वाटरपार्कमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पुर्‍याउन यहाँका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारण समेत एकमत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७