आइपीएल : हैदराबादको पहिलो जित, दिल्ली क्यापिटल्स १५ रनले पराजित


१४ आश्विन २०७७, बुधबार
ipl 1

आबुधावी, १४ असोज । पहिलो दुई खेलमा बेहोरेको हारको श्रृंखला टुंग्याउँदै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ ।

अफगानिस्तानका लेग ब्रेक बलर रशिद खानले ३ विकेट लिएपछि हैदराबादले मंगलबार दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो ।

पहिलो दुई खेल जितेको दिल्लीले पहिलो हार सामना गर्‍यो । आईपीएलको यसअघिका खेल हेर्दाको स्थितिमा १ सय ६३ रनको मध्यम स्कोर पार गर्न नसक्दा शीर्षस्थानको दिल्लीले पराजय स्वीकार्न पर्‍यो । दिल्लीले ७ विकेट गुमाई १ सय ४७ रनमात्र बनाउन सक्यो । रशिदले ४ ओभरमा १४ रन मात्र खर्चेर म्यान अफ द म्याच प्रदर्शन गरे ।

फर्ममा रहेका ओपनर पृथ्वी शलाई भुवनेश्वर कुमारले २ रनमा आउट गरेपछि रशिदले दिल्लीका कप्तान श्रेयस ऐरलाई १७, शिखर धवनलाई ३४ र ऋषभ पन्तलाई २८ रनमा आउट गरे । दिल्लीले राम्रो सुरुआत गर्न सकेन । धवन १२ औं ओभरमा आउट हुँदा दिल्लीको केवल ६२ रनमात्र थियो । धवनले ३१ बल खेल्दै ४ चौका प्रहार गरे । २७ बल खेलेका पन्तले १ चौका र २ छक्का प्रहार गरे ।

सिमरन हेटमायर २१ र मार्कुस स्टाइनिस ११ रनमा आउट भए । खेलको अन्तिम बलमा छक्का प्रहार गरेका कागिसो राबाडा ७ बल खेल्दै १५ रनमा अविजित रहे । हैदराबादबाट ओपनिङ बलर कुमारले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । खालिल अहमदले ४ ओभरमा ४३ र टी नटराजनले ४ ओभरमा २५ रन खर्चेर १-१ विकेट लिए ।

यसअघि दक्षिण अफ्रिकी तीब्र बलर राबाडाले उत्कृष्ट बलिङ प्रर्दशन गरेपछि टस जितेको दिल्लीले हैदराबादलाई १६२-४ को स्कोरमा रोकेको थियो । किंग्स इलेभेन पन्जाब र चेन्नई सुपर किंग्सविरुद्ध पहिलो दुई खेलमा दिल्लीले विजय हात पार्दा पनि राम्रो प्रदर्शन गर्दै आएका राबाडाले हैदराबादविरुद्ध ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

उनले आफ्नो अन्तिम दुई ओभरमा निकै कसिलो बलिङ गर्दै जोनी बेरिस्टो र केन विलियम्सनको विकेट लिएका थिए । उनले १८ औं ओभरमा ५ र २०औं ओभरमा ३ रनमात्र दिएका थिए । वेरिस्टो र विलियम्सनले हैदराबादबाट महत्त्वपूणर् इनिङ्स खेले । बेरिस्टोले ४८ बल खेली २ चौका र १ छक्कासहित सर्वाधिक ५३ रन बनाए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका विलियम्सनले २६ बल सामना गर्दै ५ चौकासहित ४१ रन बनाए ।

कप्तान एवं ओपनर डेविड वार्नर ४५ रनमा आउट भए । ३३ बल खेली ३ चौका र २ छक्का प्रहार गरेका उनले बेरिस्टोसँग पहिलो विकेटमा १० ओभर भित्र ७७ रन जोडे । मनीष पाण्डेले ३ रनमात्र बनाउन सके । अब्दुल समाद ७ बलमा १ चौका र १ छक्का प्रहार गरी १२ रनमा अविजित रहे ।
भेट्रान स्पिनर अमित मिश्राले २ विकेट लिए । उनले त्यसका लागि ४ ओभरमा ३५ रन खर्चे ।

चोटका कारण अघिल्लो दुई खेल गुमाएका इशान्त शर्माले ३ ओभरमा २६ रन खर्चे । लगातार तेस्रो खेलमा पनि दिल्लीले नेपाली स्पिन स्टार सन्दीप लामिछानेलाई खेलाएको थिएन । बुधबार पहिलो दुई खेल जितेका राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सको सामना गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७