तामझामका साथ नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा


२४ आश्विन २०७७, शनिबार
train 3 1

जनकपुरधाम, २४ असोज । जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ ।

निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन र डिब्बा भारतबाट ल्याइएको छ भने लिकलगायत सबै पूर्वाधार तयार भइसकेका छन् ।

तर, प्राविधिक तथा प्रशासनिक कर्मचारीको अभाव र भौतिक संरचना मर्मत गर्न बाँकी रहेकाले रेल सञ्चालन हुन नसकेको हो । ३५ किलोमिटर लामो रुटमा रेल सञ्चालनका लागि सात वटा स्टेसन रहेका छन् । त्यसका लागि कम्तीमा २ सय कर्मचारी आवश्यक पर्नेछ ।

रेल वे कम्पनी लिमिटेडले कर्मचारी भर्नाका लागि १ सय २९ जना कर्मचारी माग गरिसकेको छ । रेल चलाउनका लागि भारतबाट कम्तीमा पनि २६ जना दक्ष जनशक्ति ल्याउनुपर्ने जनाइएको छ । त्यसका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । रेल वे कम्पनीले उनीहरुलाई ल्याउने प्रक्रिया भने सुरु गरेको छैन ।

भारतबाट रेल चलाउने चालक, संकेत देखाउने कर्मचारी तथा अन्य इन्जिनियर समेत ल्याउनुपर्ने बाध्यता रेल वे कम्पनी लिमिटेडलाई रहेको छ । भारतबाट ती प्राविधिकहरु नल्याएसम्म रेल सञ्चालन असम्भव रहेको जनाइएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७