डा. केसीका मागसहित वार्ता टोली लिएर शिक्षामन्त्री प्रधानमन्त्रीलाई भेट्न वालुवाटारमा

सरकार वार्ताबाट पछि हटेको केसी पक्षीय वार्ता टोलीको आरोप


२४ आश्विन २०७७, शनिबार
girirajmani pokharel

काठमाडौं, २४ असोज । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनसनरत डा. केसीका मागसहित सरकारी वार्ता टोलीलाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

डा. केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न शिक्षामन्त्री पोखरेल सरकारी वार्ता टोलीसहित बालुवाटार पुगेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार डा. केसीसँग सहमतिको खाका तयार गर्नका लागि मन्त्री पोखरेल बालुवाटार गएका हुन् । अहिले बालुवाटारमा शिक्षामनत्रीसहित सरकारी वार्ता टोलीले प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको स्रोतले जानकारी दिएको छ ।

शुक्रबार मध्यराति भएको वार्ता बिना निष्कर्ष टुंगिएको थियो । २७ देखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएका बेला वार्तामा छलछाम गरी सरकारले सत्याग्रहीप्रति अमानवीय व्यवहार देखाएको केसी पक्षका वार्ता टोलीका संयोजक डा. जीवन क्षत्रीले बताएका छन् । सरकारी वार्ता टोली र डा. केसी पक्षबीच शुक्रबार राति ९ बजेदेखि करिब डेढ घण्टा वार्ता भएको थियो ।

केसी पक्षले बिहीबार भएका सहमतिबाट पनि सरकार पछि हटेको आरोप लगाउँदै आन्दोलनमा उत्रिएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सले अहिले काठमाडौंको माइतीघरसहित मुलुकमा विभिन्न ठाउँमा प्रदर्शन गरिरहेको छ ।

त्यस्तै डा. केसीको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ पनि थप आन्दोलनको घोषणा गर्ने तयारीमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७