भागबण्डामा जोगियो मुख्यमन्त्री शाहीको धर्मराएको पद

प्रधानमन्त्रीद्वारा मुख्यमन्त्री शाही र कँडेललाई काठमाडौं बोलावट


२७ आश्विन २०७७, मंगलवार
mahendra bahadur shahi

काठमाडौं, २७ असोज । आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुको अविश्वासको प्रस्तावले धर्मराउन पुगेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद अन्नतः भागबण्डामा जोगिएको छ ।

आफ्नै दलका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री शाहीको मुख्यमन्त्री पद जोखिममा परेको थियो । पार्टी केन्द्रको दबाव र प्रदेश नेताहरुबीच भागवण्डा मिलेपछि शाहीको मुख्यमन्त्री पद अन्ततः जोगिएको हो ।

नेकपाभित्रको तीन खेमा (ओली–प्रचण्ड–माधव ) मध्ये प्रचण्ड र नेपाल समूहबीचको सहमति मुख्यमन्त्री पद जोगिनुको महत्वपूर्ण कारण बनेको छ ।

मंगलबार बिहान मात्रै प्रधानमन्त्री ओलीका विश्वास पात्र एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले अविश्वासको प्रस्ताव अगाडि नबढाउन र मन्त्रीहरुलाई राजीनामा नदिन निर्देशन टेलिफोनबाट दिएका थिए । तर, शाहीको मुख्यमन्त्री पद जोगिनुमा प्रदेशस्तरीय नेताहरुको भागवण्डा नै महत्वपूर्ण बन्यो ।

आइतबार नेकपा संसदीय दलमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि राजधानी काठमाडौंमा रहेका नेताहरु समेत सुर्खेत पुगेका थिए । सोमबार दिउँसोदेखि मुख्यमन्त्री शाही र नेपाल समूहका नेताहरुबीच छलफल शुरु भएको थियो ।

राति अबेरसम्म छलफल चले पनि सोमबार सहमति जुट्न सकेन । यसपछि मंगलबार बिहानै प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भयो र जसरी पनि मिल्न दबाव दिइयो ।

मंगलबार बिहानबाट फेरि शुरु भएको छलफलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका सात सांसद र पूर्वमाओवादीतर्फका तीन सांसद पछाडि हट्ने अनि प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको सहमति जुट्यो ।

सहमतिअनुसार, अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको संसदीय दलको बैठकमा नेता नेपाल र माओवादी तर्फका सांसदहरु अनुपस्थित भएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव आफैं अल्पमतमा पर्‍यो ।

कर्मराज शाहीलाई तत्काल सचेतक नियुक्त गरेर मुख्यमन्त्री शाहीले आफ्नो पद जोगिएको सन्देश दिएका छन् । दुई समूहबीचको सहमतिमा मुख्यमन्त्री शाहीले नेता नेपाल समूहका थप तीन जनालाई मन्त्री बनाउने सहमति जुटेको छ ।

नेकपाको केन्द्रीय राजनीतिमा देखिएको प्रचण्ड–नेपाल समीकरण मुख्यमन्त्री शाहीको पद जोगिने आधार बन्यो । अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्डले लगातार भेटवार्ता र फोन सम्वाद गरेका थिए ।

प्रधानमन्त्रीद्वारा मुख्यमन्त्री शाही र कँडेललाई काठमाडौं बोलावट
कर्णाली प्रदेशमा नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई अविश्वासको प्रस्ताव ल्याउने पक्ष र मुख्यमन्त्री शाहीलाई छलफलका लागि नेकपाका अध्यक्षद्वयले काठमाडौं बोलाएका छन् ।

कर्णालीको विवादले गम्भीर रुप लिएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई काठमाडौं बोलाएका हुन् ।

‘उहाँहरु दुबै पक्षलाई आजै काठमाडौं आउन केन्द्रबाट निर्देशन आएको छ,’ एक नेताले सुनाए, ‘अहिले जारी सबै गतिविधि बन्द गर्न निर्देशन समेत दिइएको छ ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने गरी पार्टी संसदीय दलमा उनीविरुद्ध पार्टीका बहुमत सदस्यले आइतबार अविश्वासको मत दर्ता गराएका थिए । त्यसपछि कार्यकारी अध्यक्ष प्रचण्डले ओलीलाई भेटी सो प्रस्ताव फिर्ता लिनका लागि निर्देशन दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७