कोरोनाबाट थप १९ जनाको मृत्यु, नेपालमा मृत्तक संख्या ६९४ पुग्यो
काठमाडौं, २९ असोज । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप १९ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो ।
बुधबार देशभर १२ जनाको मृत्यु भएको छ । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।
काठमाडौं उपत्यकामा एक हजार ९३५ सहित देशभर थपिए ३७ सय ४९ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ९३५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनालाई कोरोना संक्रमण देखिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ३७ सय ४९ जना कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका एक हजार ९३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण भएको छ । २४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।