प्रधानमन्त्री रोजगार कार्यक्रममा चार हजार बेरोजगार सूचीकृत


३ कार्तिक २०७७, सोमबार
pm rojgari

रुकुम (पूर्व), ३ कार्तिक । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम (पूर्व) मा करीब चार हजार बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७–०७८ का लागि जिल्लाका तीन गाउँपालकाबाट चार हजार १६७ व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएका हुन् ।

सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

तोकिएको समयावधिभित्र फाराम भरेकाबाट वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार छानिई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको हो ।

सबैभन्दा बढी पुथाउत्तरगङ्गा गाउँपालिकाबाट एक हजार ८४३ बेरोजगार सूचीकृत भएको गाउँपालिकाका रोजगार संयोजक अनिता भुसालले बताए । यस्तै सिस्ने गाउँपालिकाबाट एक हजार ६०६ बेरोजगार सूचीकृत भएको सिस्ने गाउँपालिका रोजगार संयोजक सुशीलाकुमारी सिंहले जानकारी दिए ।

सबैभन्दा कम भूमे गाउँपालिकाबाट ७१८ बेरोजगार सूचीकृत भएका छन् । सूचीकृतलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७