विगतको दशैंमा २० लाख मानिस उपत्यका बाहिरिने गरेकोमा यो वर्ष चार-पाँच लाख मात्र


५ कार्तिक २०७७, बुधबार
bus park

काठमाडौं, ५ कार्तिक । सरकारले विगतका वर्षमा जसरी दशैं तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट पाइरहेका छन् ।

दशैंका समयमा विगतका वर्षभन्दा धेरै कम यात्रुले मात्रै काठमाडौं उपत्यका छाडेर घर गएकाले समस्या नभएको यातायात व्यवस्था विभागलले जनाएको छ । बजारको मागकै आधारमा अग्रिम टिकट नखुलाइएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताए । बिगतका वर्षभन्दा झण्डै एक चौथाइले मात्रै उपत्यका छाडेको पाइएको यी यात्रुका लागि अहिले भइरहेकै सवारीसाधन पर्याप्त हुने उनले बताए ।

उनका अनुसार आबश्यक पर्दा थप सवारीसाधन व्यवस्थापन गर्न सकिने यातायात व्यवसायीले बताएका छन् । उनले भने, ‘हामीले यातायात व्यवसायीसँग नियमित सम्पर्क गरिरहेका छौँ ।’ विगत वर्षमा झण्डै २० लाखले दशैंमा घर जाने गरे पनि यो वर्ष झण्डै चार–पाँच लाख मात्रै जाने अनुमान गरिएको छ ।

विगतका वर्षमा भीडभाड हुने गरेकामा अहिले लामो र मध्यम रुटका गाडी छुट्ने स्थानमा भीडभाड कम देखिएको छ । विभागले ट्राफिक प्रहरीसँगको समन्वयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए नभएको अनुगमन समेत गरिरहेको छ । केही दिन पहिले मात्रै सरकारले सार्वजनिक सवारीसाधनमा सिटअनुसार यात्रु राख्न पाउने र तोकिएभन्दा बढी भाडा लिन नपाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७