यातायात व्यावसायीले मनलाग्दी भाडा असुल्न थालेपछि चेकजाँच कडाइ


६ कार्तिक २०७७, बिहीबार
623469006953340275sawari sdhan f.

इलाम, ६ कार्तिक । यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल्न थालेपछि सडकमा चेकजाँच कडाइ तथा प्रभावकारी अनुगमन गर्न थालिएको छ ।

इलामको जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था सेवा कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको संयुक्त टोलीले सडकमा चेकजाँच कडाइ तथा प्रभावकारी अनुगमन गर्न थालिएको हो ।

बुधबार मात्र इलाम नगरपालिका–७ धोवीधारामा ११३ सवारीको चेक जाँच तथा अनुगमन गरिएको छ । जसबाट रु पाँच हजार राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख योगेन्द्र दाहालले जानकारी दिए । उनका अनुसार मोटरसाइकल, ट्याक्सी, बस, अटोलगायत गरेर सात प्रकारका सवारी साधनको जाँच गरिएको थियो ।

यस अगाडिसमेत मेची राजमार्गका विभिन्न क्षेत्रमा जाँच गरिएको थियो । कोरोना महामारीका बीच कम संख्यामा यात्रु बोक्दा तोकिएको भाडादरमा आधा बढाएर लिन पाउने नियम सरकारले जारी गरेको थियो ।

तर लकडाउन खुले पनि यात्रुसँग बढी नै रकम लिने गरेको गुनासो बढेपछि यसको प्रभावकारी अनुगमन थालिएको बताइएको छ । विशेष गरेर ग्रामीण क्षेत्रबाट कुद्ने सवारीले दोब्बरसम्म भाडा लिने गरेको गुनासो यात्रुहरुबाट आउने गरेको छ ।

दशैं, तिहार, छठलगायतका चाडपर्वका समयमा हुने सवारीसाधन एवं सवारीको चापलाई ध्यानमा राखी सुरक्षित यात्राको व्यवस्था मिलाउन यात्रु, चालक, सवारी धनी एवं आम नागरिकमा अपिल समेत गरेको ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७