त्रिभुवन राजपथको थानकोट–चित्लाङ गणेशमान मार्ग सडकको स्तरोन्नति शुरु


७ कार्तिक २०७७, शुक्रबार
rrr1

मकवानपुर, ७ कार्तिक । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुरको थाहानगरपालिका–९ र काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ को थानकोट–चित्लाङ गणेशमान मार्ग सडकखण्डको साढे २२ किलोमिटर सडकलाई अहिले स्तरोन्नति गर्ने कामलाई तीव्रता दिइएको छ ।

अहिले त्रिभुवन राजपथअन्तर्गत पर्ने काठमाडौंतर्फको चन्द्रागिरि नगरपालिका–४ र ७ मा पर्ने थानकोटदेखि करीब चार किलोमिटर सडकको पहाडका ढुङ्गाहरु फोरी सडकलाई फराकिलो गर्ने कार्य भइरहेको थानकोट–चित्लाङ–गणेशमान मार्ग सरोकार समितिका अध्यक्ष तथा वाग्मती प्रदेशसभाका सदस्य रमा आलेमगरले बताए ।

उनले थानकोटदेखि चित्लाङसम्म जोड्ने साढे २२ किलोमिटर सडकलाई फराकिलो, ढल निर्माणका साथै ग्राभेल समेत गर्ने गरी आगामी वर्षको वैशाखसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए । उक्त सडकको स्तरोन्नति गर्न सङ्घीय सरकारले अहिले रु १३ करोड उपलब्ध गराएको र दोस्रो चरणमा उक्त सडकलाई कालोपत्र र ढलमा स्ल्याब निर्माण गर्ने कार्यका लागि वाग्मती प्रदेश सरकारले छुट्टै बजेट उपलब्ध गराउने भएको प्रदेशसभा सदस्य मगरले उल्लेख गरे ।

यसैगरी, चित्लाङदेखि कुन्छालसम्म जोड्ने करीब १० किलोमिटर सडकलाई पनि फराकिलो बनाउँदै कालोपत्र गर्नेतर्फ निर्माण कार्यलाई तीव्रता दिइएको छ । केही हप्ताभित्रै कुन्छालदेखि चित्लाङसम्मको सडकखण्डमा हल्का सवारीसाधनहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि थानकोट–चित्लाङ गणेशमान सरोकार समितिले जनाएको छ ।

चित्लाङ–थानकोट सडकको स्तरोन्नति गरिएपछि काठमाडौंका उपभोक्ताहरुलाई मकवानपुरको हेटौँडा र दामन, पालुङबाट मौसमी तरकारी, फलफूल, खाद्यान्न, इन्धन र औषधिलगायत अन्य सामग्रीहरु उपलब्ध गराउन प्रत्यक्ष लाभ पुग्ने भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताएका छन् ।

नेपाली कांग्रेस सरकारमा रहँदा थानकोट–चित्लाङ सडकखण्डमा दुई दशकअघि कच्ची ट्रयाकको निर्माण गरी हल्का सवारीसाधन सञ्चालनमा ल्याएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिए । उक्त सडकको नेपाली कांग्रेसको सरकारले सर्वमान्य नेता गणेशमान सिंह मार्गको नामकरण गरिएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७