सल्लाह गरेरै पार्टी अलग गरौं भन्ने कुरा जहाँबाट आए पनि सही होइन : नेकपा प्रवक्ता


१८ कार्तिक २०७७, मंगलवार
narayankaji shresth

काठमाडौं, १८ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सल्लाह नै गरेर पार्टी अलग–अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आए पनि सही नभएको बताएका छन् ।

उनले पार्टीभित्र देखिएको विवादका विषयमा चुप पनि नबस्न र व्यक्तिगत गालीगलौजमा पनि नउत्रिन आग्रह गरेका छन् । आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रवक्ता श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । उनले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति र प्रवृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गर्न समेत आग्रह गरेका छन् ।

n

‘राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर विचार, नीति र प्रवृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं । तैं चुप मैं चुप पनि नगरौं, तुम शेर तो हम सवा शेरझै ब्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौं’, प्रवक्ता श्रेष्ठले लेखेका छन् । उनले सल्लाह गरेर पार्टी अलग–अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही नभएको बताएका छन् ।

उनले व्यक्तिगत कटुतासहितको व्यक्तिगत विषय नबनाऔं भन्ने कुरा सही भएको भन्दै पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गर्न आग्रह गरेका छन् ।

‘सल्लाह गरेर पार्टी अलग–अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भए पनि सही होइन । तर त्यसमा अन्तरनिहीत एउटा पक्ष, अर्थात व्यक्तिगत कटुतासहितको व्यक्तिगत विषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी बिभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौं’, प्रवक्ता श्रेष्ठले भनेका छन् । उनले पार्टीभित्रको छलफल, बहस र अन्तर संघर्षलाई व्यक्तिगत गालीगलौज र आरोप प्रत्यारोपको रुप नदिन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७