दार्चुलामा प्रधानाध्यापक नहरमा मृत फेला, हत्याको आशंका


१८ कार्तिक २०७७, मंगलवार
Death

दार्चुला, १८ कार्तिक । दार्चुलाको शैल्यशिखर नगरपालिका ९ स्थित जगतपुरी शिवधाम नजिक नहर (कुलो) मा मंगलबार एक प्रधानाध्यापक मृत भेटिएका छन् ।

नहरमा टाउको र बाहिरपट्टी हात रहेको अवस्थामा बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–२ कपट्टास्थित डाडाबाग आधारभूत विद्यालय किमिचोरका प्रधानाध्यापक ४५ वर्षीय गोविन्द घरेडीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बिहान नहरमा फेला परेको शवको पहिचान भइसकेको र घटनाबारे अनुसन्धान गर्ने काम भइरहेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिह साउदले बताए । प्रहरीका अनुसार मृतकसँग ८५ हजार नगद रुपैयाँसहित झोला, मोबाइल, बैंक चेकबुकलगायत सामान रहेको छ ।

मृतकको टाउकोमा धारिलो हतियार प्रहार भएको जस्तो देखिने घाउ र शरीरमा निलडाम परेको छ । सोमबार बिहान शिक्षकहरुको तलब भक्ता भुक्तानी गर्न घरबाट गोकुलेश्वर आएका प्रधानाध्यापक घरेडीको गाउँ जाने बाटो नै नपर्ने सडक माथिको आरसीसी नहर (कुलो) भित्र शव फेला परेकोले आफन्तहरुले हत्याको आशंका गरिरहेका छन् । घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७