अमेरिकामा राष्ट्रपति निर्वाचन सकियो : नतिजा आउन शुरु


१९ कार्तिक २०७७, बुधबार
US election vote

काठमाडौं, १९ कार्तिक । अमेरिकामा राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ । आगामी चार वर्षका लागि ह्वाइट हाउसमा पुग्न मुल रुपमा दुई पार्टी रिपब्लिकन र डेमोक्र्याट बीच भएको प्रतिष्पर्धालाई मतदाताहरुले आफ्ना मतमार्फत् अभिमत दिएका छन् ।

निकै विवादित र विभाजित रुपमा चलेको अमेरिकी निर्वाचन अभियान सकाउँदै मतदाताहरुले उत्साहपूर्वक मत दिएका हुन् । अघिल्ला निर्वाचनका तुलनामा यस पटक धेरै प्रतिशत मत खसेको जनाइएको छ । आगामी चार वर्षका लागि ह्वाइट हाउसमा कब्जा जमाउन संघर्षरत अमेरिकी राष्ट्रपति पदका उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनको भविष्य बाकसमा बन्द भएको छ ।

कोरोनो महामारीले सन्त्रस्त बनाएको समयमा पनि अमेरिकीहरुले निकै उत्साहपूर्वक मत खसालेका छन् । अधिकांश मतदाता मुखमा मास्क लगाएर दूरी कायम गर्दै मत खसाल्न लामवद्ध भएका थिए । पूर्ण परिणाम आउन केही दिन लाग्ने भए पनि निर्वाचन परिणाम कसको पक्षमा गयो भन्ने प्रारम्भिक नतिजा भने अबको केही समयमा अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिन थाल्ने छन् ।

188894a31b02b8dbb850d541c0205034 w1000 h500 cp

नोभेम्बर ३ को उज्यालो घामसँगै भएको मतदानले रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति ट्रम्प र डेमोक्र्याट उम्मेदवार पूर्व उपराष्ट्रपति बाइडेन कसलाई फेरि ह्वाइट हाउसको कार्यालयमा पुर्‍याउने छ भन्ने निर्क्यौल गर्न लागेको हो । मतदानको दिनसम्म पनि दुबै उम्मेदवार र पार्टीले परिणाम आफ्नो पक्षमा पार्न कुनै कसर बाँकी राखेनन् । उम्मेदवारहरुले एकार्काको कटू आलोचना, निन्दा र भत्र्सना गरेको यस निर्वाचनमा अग्रिम मतदानमा भारी संख्या मत खसेको थियो ।

मतदान पूर्वका सर्भेक्षणहरुमा लगातार अग्रता लिइरहेका बाइडेनको मतदानको दिन निकट आउँदा ट्रम्पसँगको दूरी घट्दो देखाएको थियो । यद्यपि, मतदाता मतदान केन्द्रमा पुग्ने समयसम्म राखेको अग्रता बाइडेनले बाकससम्म पुर्‍याउनुसके कि सकेनन् भन्ने मुख्य प्रश्न भएको जनाइएको छ ।

खासगरी ब्याटल ग्राउण्डका रुपमा चिनिने केही अस्थीर राज्यको मत कसका पक्षमा गयो भन्नेमा धेरैको चासो छ । जसले दुई उम्मेदवारको भविष्य निर्धारण हुनेछ । दुबै उम्मेदवारले आफ्नो अन्तिम प्रयास तिनै राज्यमा केन्द्रित गराएका थिए ।

अमेरिकी निर्वाचनमा आमजनताको लोकप्रिय मत जितेर ह्वाइट हाउसमा राज गर्न पाइन्न । लोकप्रिय मत नजितेर पनि राज्यहरुबाट प्राप्त हुने इलेक्टोरल भोट आफ्नो पक्षमा पार्ने व्यक्ति संसारकै शक्तिमान शासक बन्न सक्नेछ ।

जनसंख्याको आधारमा विभिन्न राज्यबाट चुनिने ५३८ इलेक्टोरल भोटमध्ये २७० भोट आफ्नो पक्षमा पार्ने व्यक्तिले उक्त अवसर पाउने अमेरिकी निर्वाचन प्रणालीको विशेषता रहेको छ । यसका लागि इलेक्टोरल कलेज हात पार्न सम्बन्धित राज्यको ५० प्रतिशतभन्दा बढी मत आफ्नो पक्षमा पार्नुपर्नेछ ।

US election vote3 768x512 1

यसैका कारण सन् २०१६ को निर्वाचनमा ३० लाखभन्दा बढी भोट ल्याएर पनि इलेक्टोरल कलेजमा बहुमत जुटाउन नसक्दा डेमोक्रेट उम्मेदवार हिलरी क्लिन्टनले हार ब्यहोर्नुपरेको थियो भने ट्रम्पले विजयको माला पहिरिएका थिए । त्यसअघि सन् २००० मा पनि जर्ज बुसले डेमोक्रेट उम्मेदवार अलगोरले भन्दा झण्डै ६ लाख कम भोट पाउँदा पनि ह्वाइट हाउसको दौडमा विजय पाएका थिए । यसअघि १९ औं शताब्दीमा अरु तीन जनाले पनि यस्तो अवसर पाएका छन् ।

अमेरिकी इतिहासकै सबैभन्दा महत्वपूर्ण मानिएको यस निर्वाचनले गोरा अमेरिकीहरुको सर्वोच्चताको वकालत गरिरहेका वर्तमान राष्ट्रपति ट्रम्पको नीतिलाई आधिकारिकता दिनेछ वा समावेशीका पक्षमा मुखर बाइडेनलाई भन्ने टुंगो गर्नेछ ।

अहिलेसम्मको प्रायःजसा सबै सर्भेक्षणमा बाइडेनले ट्रम्पमाथि करिब ९ अंकको अग्रता लिइरहेका देखिएको छ । तर चार वर्षअघिको निर्वाचनमा पनि सबैजसो सर्भेक्षणमा अग्रता लिएर क्लिन्टनले हार ब्यहोर्नु परेकाले यस्ता सर्भेक्षणमा भरपर्न गाह्रो हुने आंकलन गरिएको हो ।

कोरोना महामारीको विश्वव्यापी चपेटमा परेर सबैभन्दा बढी क्षति ब्यहोरेको समयमा हुन लागेको यस निर्वाचनमा ट्रम्प प्रशासनले महाब्याधी नियन्त्रणमा कुशल व्यवस्थापकीय भूमिका निर्वाह गर्न नसकेको आरोप लागेको छ । कोभिड–१९ बाट अमेरिकामा मात्रै २ लाख ३० हजारभन्दा बढी व्यक्तिले जीवन गुमाउँदा ९४ लाख मानिस संक्रमित बनेका छन् । भाइरस संक्रमणको शुरुवातदेखि खेलाँची गर्दा धेरै अमेरिकीले ज्यान गुमाउनु परेको आरोप ट्रम्पमाथि लागेको छ ।

करिब २४ करोड व्यक्ति मत दिनका लागि योग्य रहे पनि कति व्यक्तिले मत दिए भन्ने जानकारी आइसकेको छैन । करिब १० करोड व्यक्तिले मतदानपूर्व नै हुलाक र मतदान केन्द्रमा पुगेर मतदान गरिसकेका थिए । जबकी सन् २०१६ मा १३ करोड ६५ लाखभन्दा बढीले मात्र मत दिएका थिए । त्यसका आधारमा हेर्दा यस पटक धेरै मत खसेको अनुमान गरिएको छ ।

US election vote1

रमाइलो के छ भने दुई ठूला पार्टीबीच दुई–दुई कार्यकालको भागबण्डा जस्तो देखिने अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा अरु पार्टी र उम्मेदवार पनि रहेका छन् । यस पटक लिबेटेरियन पार्टीबाट जो जोर्येनसेन राष्ट्रपति र स्पाइक कोहेन उपराष्ट्रपतिको उम्मेदवार बनेका छन् ।

यसैगरी ग्रीन पार्टीका तर्फबाट हवेई हकिन्स राष्ट्रपति तथा एञजेला वार्कर उपराष्ट्रति पदमा उत्रिएका छन् । र्‍यापर केन्ये वेष्टसहितका आधा दर्जन अरु स्वतन्त्र उम्मेदवार पनि भोट माग्दै हिंडेका थिए । तस्वीर : बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७