तालमेल र एकताले जनता उत्साहित छन् : झलनाथ खनाल


२३ आश्विन २०७४, सोमबार

काठमाडौं :  एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी शक्तिहरुबीच चुनावी तालमेल र एकता प्रक्रियाको सुरुवात भएपछि मुलुकको राजनीतिमा एकप्रकारको भूकम्प नै गएको बताएका छन् । तालमेल र एकताको कुराले जनता हर्षित र उत्साहित भएपनि कतिपय व्यक्तिहरु भने अतालिन थालेको खनालको प्रतिक्रिया थियो ।

JN Khanal

सोमबार गृहजिल्ला इलाम जाने क्रममा झापाको बिर्तामोडमा प्रेस चौतारीले आयोजना घरेको साक्षात्कारमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनपछि मुलुकमा बहुमतको स्थिर सरकार बन्ने दावीसमेत गरे । वामपन्थी शक्तिहरुबीचको चुनावी तालमेल र एकता प्रक्रिया कसैका विरुद्ध नभएको खनालले स्पष्ट पारे । ‘यो तालमेल र एकता प्रक्रिया विदेशी शक्तिको संगतबाट सुरु भएको होइन,’ उनले भने, ‘यो जनइच्छाबाट प्रतिबिम्बत एकता हो, कसैले शंका गर्न जरुरी छैन ।’

खनालले जनता र राष्ट्रलाई एकताबद्ध बनाउनका लागि बामपन्थी शक्तिहरुबीच एकता प्रक्रिया थालनी गरिएको उल्लेख गरे । एकताले जनतालाई अग्रगतितर्फ लैजाले संकल्प बोकेको उनको भनाइ थियो । ३२ सालदेखि अहिलेसम्म आफूहरुले साढे ३ दर्जन कम्युनिष्ट समूहलाई एकता गराएको सुनाउँदै नेता खनालले एमालेसँग कम्युनिष्ट समूहलाई एकता गराउने अनुभवको भण्डार रहेको दावी गरे । ‘त्यो भण्डारमा माओवादी केन्द्र आउँदा अर्को एउटा निकै ठूलो इटा थपिएको छ,’ उनले भने, ‘चुनावी एकता मात्रै गर्दा त यत्रो हलचल छ, पार्टी एकता गर्दा झन् योभन्दा ठूलो हलचल हुनेछ ।’

वामपन्थीहरुको एकता प्रक्रियाका कारण एमालेभित्रका स–साना चोइटाहरु धुलो भएर झनै बढी एकता हुने उनले विश्वास व्यक्त गरे । अब राजनीतिक दलभित्रका साना मसिना धारहहरु विलय हुने उनको कथन थियो । एकीकरण प्रक्रिया सुरु भए पनि पावर सेयरिङका विषयमा छलफल नभएको नेता खनालले जानकारी दिए । ‘अहिले भर्खर हामी तालमेलको प्रक्रियामा छौँ,’ उनले भने, ‘निर्वाचन बाँकी नै छ, त्यसैले हामी यो विषयमा गएकै छैनौँ, यो चुनावपछिको विषय हो ।’

एक फरक प्रसंगमा बोल्दै नेता खनालले प्रधानमन्त्रीका लागि एमालेमा दर्जनभन्दा बढी योग्य नेताहरु रहेको बताए । माओवादी केन्द्रसमेत एकताबद्ध भएपछि प्रधानमन्त्रीको लाइनमा झन बढी नेताहरु रहने उनको भनाइ थियो । ‘तर, त्यो लाइनमा बस्नका लागि पहिले चुनाव त जित्नुप¥यो नि,’ खनालले हाँस्दै भने ।

‘तलमेलका विषयमा छलफल हुँदा सुरुमा सूर्य चिन्हलाई नै लिएर जाने सहमति भए पनि अहिले माओवादी केन्द्रभित्र प्राविधिक समस्या उत्पन्न भएको खनालले बताए । ‘अहिले आ–आफ्नो चिन्ह लिएर जाऔँ भन्ने कुरा आएको छ, हामी सूर्यबाटै चुनाव लडौँ भनेर प्रयत्न गरिरहेका छौँ, हेरौँ के हुन्छ,’ उनले भने ।

चुनावका लागि माओवादी केन्द्रसँग ६०–४० को सम्झौता भए पनि ६० र ४० नै नहुन पनि सक्ने उनले संकेत गरे । ‘७०–३० पनि हुन सक्छ, ६१–३९ पनि हुन सक्छ,’ खनालले भने । प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनपछि मुुलुक ऐतिहासिक युगमा प्रवेश गर्ने नेता खनालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७