नेकपा सचिवालय नै ‘विभाजित’


२२ कार्तिक २०७७, शनिबार
Ncp Meeting

काठमाडौं, २२ कार्तिक । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले केही दिनअघि सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आफू र अर्का अध्यक्ष पुष्पकमल दाहालमध्ये कसको पक्षमा लाग्ने हो, स्पष्ट गर्न आग्रह गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ थापासँगको भेटमा पार्टीभित्रको विवाद मिलाउनका लागि भूमिका निर्वाह गर्न आग्रह गरिन् । यी दुवै भेटमा थापाले स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन गरेर एकता बचाउन दुवै अध्यक्ष मिल्नु नै अन्तिम विकल्प भएको जवाफ दिए । त्यही कुरा थापाले शुक्रबार बिहान अध्यक्ष दाहालसँगको भेटमा पनि गरे ।

तर शुक्रबारै दिउँसो अध्यक्ष दाहालले बोलाएको सचिवालय सदस्यहरूको अनौपचारिक छलफलमा थापा देखिएनन् । ओलीलाई जानकारी दिएरै दाहालले बोलाएको छलफलमा समेत नगएर थापाले ओलीको पक्षमा आफ्नो कित्ता स्पष्ट गरेका हुन् त ? ‘उहाँ अन्तिमसम्म पनि दुई अध्यक्ष नै मिल्नुपर्छ भनेर लाग्नुहुन्छ,’ थापानिकट स्रोतले भन्यो, ‘यो सन्देश उहाँले अध्यक्ष दाहाललाई पनि दिइसक्नुभएको छ ।’

पार्टी कार्यालय धुम्बाराहीमा बसेका दाहालनिकट नेताहरूको भने थापासहित अनुपस्थित अरू नेताहरूबारे बेग्लै बुझाइ छ । सचिवालय सदस्यहरूको भेलाले थापासहित पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल छलफलमा नआएर आफूहरूलाई गुटवादी र फुटपरस्त नेताका रूपमा उभ्याएको निष्कर्ष निकालेको छ ।

करिब २ घण्टा भएको उक्त छलफलमा सचिवालय सदस्य अब को कता छन् भनेर कित्ता स्पष्ट भएको निचोड निस्किएको त्यहाँ सहभागी एक नेताले बताए । ‘निर्णय केही गर्छ कि भनेर डराएको हो भने अनौपचारिक बैठक हो, समस्याबारे छलफल गरौं भन्दा पनि उहाँहरू नआएकामा हामी छक्क प¥यौं,’ उनले भने । ‘हामीलाई नै गुटबन्दी गरे भनेर आरोप लगाउने साथीहरू उल्टै किन गुटवादी र फुटपरस्त भएका होलान् ? यो त सरासर कित्ताकाट नै हो नि,’ उनले भने ।

दाहालले सचिवालयका चार सदस्यहरूलाई गरेको ब्रिफिङअनुसार प्रधानमन्त्री ओलीले बिहीबार नै नेकपामा अहिले गुट मात्रै रहेकाले आ–आफ्नो गुटको बैठक गरे भइहाल्यो नि भनेका थिए । ‘पार्टी लगभग अलग नै भइसक्यो ।

हाम्रा आ–आफ्ना पार्टी छन्, मेरा कार्यकर्तालाई म मेरै लाइनको अपडेट गराउँछु, तपाईंतिरकासित तपाईंकै लाइनको कुरा गर्नुस्,’ ओलीको भनाइ उद्धृत गर्दै दाहालले उक्त छलफलमा ब्रिफिङ गरेका थिए, ‘हाम्रो पार्टीको कमिटी भनेको गुट हो, मेरो गुटको छुट्टै बैठक बस्छु, तपाईंको गुटको छुट्टै बैठक बस्नस् ।’ ओलीले आफ्नो लाइनबारे बिहीबार नै प्रस्ट पारिसकेको र शुक्रबार अरू सचिवालय सदस्यहरूलाई पार्टी समस्याबारे छलफल गर्न जुटौं भन्दा पनि नआएर त्यसमा बल पु¥याएको सचिवालयका एक सदस्यले बताए ।

ओलीनिकट नेताहरू भने दाहाल–नेपालहरूले दिन दिनै चार जनाको बैठक राखेर कित्ताकाट गरिसकेको बताउँछन् । ‘औपचारिक होस् या अनौपचारिक, दुई अध्यक्षबीचको छलफल र परामर्शमा बैठक गर्न नमिल्ने नेकपाको विधि, पद्धति, विधान र परम्परा छ,’ ओली निकट एक स्थायी कमिटी सदस्यले भने, ‘उहाँहरूले गुटको भेला गर्नु भएको हो, खुमलटारमा गइरहने धुम्बाराहीमा पनि गए, दुई अध्यक्ष नै मिल्नुपर्छ भन्ने लाइनका गएनन्, उहाँहरूको र हाम्रो कित्ता छुट्टिएकै हो ।’

दाहालले अनौपचारिक छलफलबारे ओलीलाई जानकारी गराएको भए पनि उक्त छलफलले ओली थप रुष्ट भएको उनका निकटस्थहरूको भनाइ छ । ‘पार्टी अफिसमा मैले परामर्श गरें भनेर देखाउनका लागि विभाजनकारी गतिविधिमाथि पर्दा हाल्न र भ्रम छर्न बैठकका नाममा छलफल गरिएको हो, यो बैठक हो भनिएको हो,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘पार्टी विभाजनको तयारीका लागि उहाँहरूले कता–कता के–के भेला गर्नुभएको छ, सबै प्रस्टै छ ।’

बिहीबार प्रधानमन्त्री ओलीसँग भएको भेटमा अध्यक्ष दाहालले आफूले पार्टी सचिवालयको बैठक बोलाउने बताएका थिए । तर ओलीले औपचारिक बैठक डाकिए पार्टी फुटको बिन्दु नै त्यही हुने बताएपछि दाहाल हच्किएका हुन् । त्यसपछि उनले बिहीबार नै ओलीलाई उसो भए आफूले सचिवालय सदस्यहरूको अनौपचारिक छलफल डाक्ने र अहिलेसम्म भएका कुराको ‘अपडेट’ गराउने जानकारी गराएका थिए ।

त्यसैका आधारमा भएको ५ सचिवालय सदस्यको अनौपचारिक छलफलले प्रधानमन्त्री ओलीसँग भेटेर सहमतिका आधारमा औपचारिक बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ । त्यसका लागि उनीहरू प्रधानमन्त्री ओलीलाई भेट्न शनिबार विहान साढे ९ बजे बालुवाटार जाने भएका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७