व्यवस्था फेरिएसँगै अवस्था फेरिएको ‘दोधारा चाँदनी’


प्रकाशित मिति : November 8, 2020

महेन्द्रनगर, २३ कार्तिक । पढ्दै र सुन्दै आएको पश्चिममा भारतसित सीमा महाकाली नदीले छट्याएको भन्ने गरेको भए पनि कञ्चनपुरका सवालभन्दा त्यो अन्याय हुन जान्छ । किनकी महाकाली नदीपारि ५० हजारभन्दा बढी जनसंख्या भएको महाकाली नगरपालिका छ ।

दोधारा चाँदनीका रुपमा मुलुकमै परिचित महाकालीपारिकोे बस्ती स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि महाकाली नगरपालिका नामकरण भए जस्तै त्यहाँको विकास र समृद्धि जिल्लाकै अग्रस्थानमा आउन थालेको छ । विसं २०६१ मा महाकाली नदीमा एशियाकै दोस्रो लामो झोलुङ्गे पुल बनेपछि जिल्लासित सम्बन्ध गाँसिएको दोधारा चाँदनीमा डेढ दशकयताको विकास उदाहरणीय छ ।

कुनै बेला महाकाली नदीमा ज्यानको बाजी थापेर ट्युव यात्रा गर्न बाध्य दोधाराचाँदनीवासी अहिले निर्माणाधीन चार लेनको पक्की पुल र निर्माणको गृहकार्यमा रहेको सुख्खा बन्दरगाह जस्ता मुलुककै ठूला आयोजनासित जोडिँदा खुशी छन् ।

‘त्यो बेला बनबास पुल हुँदै भारतको बाटो प्रयोग गरेर यहाँ आउन दुःख मात्रै थिएन, जापानी र कोरियन कपडाहरु भारतले ल्याउन दिँदैनथ्यो’, महाकाली नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनारले भने, ‘अहिले सुदूरपश्चिमका ठूला आयोजनाहरुसित दोधारा चाँदनी जोडिँदा खुशीको सीमा नै छैन ।’ करीब १६ वर्षअघि महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि दोधारा चाँदनीवासीको ट्युव यात्रा अन्त्य भएको हो ।

नगर प्रमुख सुनारले सडक पूर्वाधारसित जोडिन नपाउँदाको अवस्थामा लामो समय स्थानीयवासीले सीमावर्ती बजार खटिमा र भारतको भरमा बाँच्नु परेको विगत सुनाए । ‘बर्खामा धेरै स्थानीयवासीले ट्युव तर्दा ज्यान समेत गुमाए’, उनले भने, ‘अहिले यहाँको हरेक वडाको विकासको गति अन्यत्रको भन्दा कम छैन ।’ विसं २०२० तिरदेखि दोधारा चाँदनीमा बसोबास हुँदै आएको उनले बताए । मुलुकमा थुप्रै व्यवस्था परिर्वतन भएसँगै दोधारा चाँदनीको अवस्थामा पनि निकै सुधार आएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिकको समेत बसोबास रहेको दोधारा चाँदनीमा जिल्लाकै नमूनाका रुपमा सडक सञ्जाल र पुलपुलेसा विस्तार र स्तरोन्नति भएका छन् । ‘अहिले मायापुरी सामुदायिक वन क्षेत्रमा सुख्खा बन्दरगाह बन्ने भनेर काम अगाडि बढेको छ’, नगर प्रमुख सुनारले भने, ‘सुख्खा बन्दरगाह बने दोधारा चाँदनी आर्थिक रुपले अझ समृद्ध हुन्छ ।’ उनले यो नाकालाई अन्तरदेशीय नाकाका रुपमा जोड्न खोजिएको बताए ।

स्थानीय तहसँगै प्रदेश र सङ्घीय सरकारबाट समेत ठूला आयोजनाहरु यहाँ पर्दा दोधारा चादँनीको मुहार फेरिएको स्थानीयवासीको भनाइ छ । समृद्धितर्फ अघि बढेको दोधारा चाँदनी राजनीतिकरुपले पनि कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को भोट बैंकका रुपमा लिइने गरेको छ । बाइस हजारभन्दा बढी मतदाता रहेको दोधारा चाँदनीमा पछिल्लो समय भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र खानेपानीलगायतको पूर्वाधार पनि धमाधम बनिरहेका छन् ।

‘झोलुङ्गे पुल बन्ने बित्तिक्कै यहाँको जग्गाको मूल्य बढेको थियो’, सुनारले भने, ‘चार लेनको पक्की पुल बन्न लाग्दा र सुख्खा बन्दरगाहको खबरले यहाँ जग्गाको कारोबार नै बढेको छ ।’

झोलुङ्गे पुल बन्दा मोटरसाइकल, पैदल र साइकलमा ओहोरदोहोर गर्न सहज भएको बताउँदै चाँदनीको व्यापारी मोहन सिंहले पुल बने यहाँको आर्थिक विकासमा सहयोग पुग्ने बताए । ‘थोरै समयमा यतिधेरै ठूला विकासे आयोजना यहाँ आउलान् भन्ने कल्पना समेत गरेका थिएनौं’, सिंहले भने, ‘दोधारा चाँदनी अब जिल्लासित मात्रै होइन, मुलुककै व्यापारिक र आर्थिक नाकाका रुपमा विकास हुँदैछ ।’

झोलुङ्गे पुल त्यो बेला रु नौ करोड ४२ लाखको लागतमा बनेको थियो भने अहिले चार लेनको पक्की पुल र पहुँच मार्ग रु तीन अर्ब २७ करोडको लागतमा निमार्णाधीन अवस्थामा छ । दोधारा चाँदनीमा किसानलाई सिँचाइका लागि भने महाकाली नदीको पानी अझै पु¥याउन सकिएको छैन ।

महाकाली सन्धिअनुसार शारदा नहरबाट भारतले दोधारा चाँदनीलाई ३५० क्युसेक पानी दिनुपर्ने उल्लेख छ । नेपाल–भारत सीमासम्म नहर निर्माण गरी दोधारा चाँदनीलाई दिनुपर्ने पानी दिन भारतले लामो समयदेखि बेवास्ता गरेको स्थिति छ ।

बस्ती बस्दा जङ्गल र झाडी भरिएको दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनेर आर्थिक गतिविधि बढ्ने भन्दै स्थानीयवासी विनोद सुनार हर्षित छन् । ‘झोलुङ्गे पुलको नाम दोधारा चाँदनी राखिएपछि हाम्रो परिचय देशभरि फैलियो’, सुनारले भने, ‘नत्र यहाँ महाकालीपारि पनि नेपाल छ र भन्ने धेरै आउँथे ।’

उनले राजा महेन्द्रको पहाडबाट झरेकालाई तराईमा बस्ती बसाउने नीतिअनरुप नै यहाँ बस्ती बसेको सुनारको भनाइ छ । ‘सदरमुकाम महेन्द्रनगर जम्मा १५ किलोमिटरको दूरीमा छ’, सुनार भन्छन्, ‘पहिले सधैं टाढा लाग्ने सदरमुकाम अहिले त मोटरसाइकलमा २० मिनेटमा पुगिन्छ ।’ उनले अझै दोधारा चाँदनीका आर्थिक अवस्था कमजोर र विपन्न समुदायका नागरिकले रोजगारीका लागि भारत जानुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्