अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा


२८ कार्तिक २०७७, शुक्रबार
1605230098 ganeshshor singh 1200x560 1

बुटवल, २८ कार्तिक । आफू कार्यरत अस्पतालको लापरबाहीका कारण ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ डा. ज्ञानेश्वरप्रसाद सिंहको परिवारले झन्डै ९३ करोड क्षतिपूर्ति माग दबी गर्दै भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ ।

उपचारका क्रममा गत माघमा मृत्यु भएका डा. सिंहको परिवारले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ अस्पतालविरुद्ध ९२ करोड ७८ लाख ७३ हजार रुपैयाँ क्षतिपूर्ति दाबीसहित अदालतमा मुद्दा दायर गरेको हो ।

त्यसमध्ये ४२ करोड ७८ लाख ७३ हजार रुपैयाँ परिवारका लागि क्षतिपूर्ति दाबी गरिएको छ। विगतमा समेत अस्पतालले गम्भीर लापरबाही गरेकाले त्यस्ता लापरबाही दोहोरिन नदिन दण्डबापत ५० करोड क्षतिपूर्ति दाबी गरिएको छ ।

डा. सिंहकी पत्नी विना सिंहले कात्तिक १६ गते जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेकी हुन् । मुद्दामा अस्पताल र त्यहाँ कार्यरत तीन चिकित्सकलाई विपक्षी बनाइएको छ। डा. सिंहको उपचारमा संलग्न विश्व तुलाचन, लक्ष्मी पाठक र डा. सन्तोष शाहलाई चिकित्सकीय लापरबाही (मेडिकल नेग्लेजेन्सी) गरेको आरोप लगाइएको छ ।

उपचारका क्रममा भएको लापरबाहीले श्रीमानको ज्यान गएकाले क्षतिपूर्तिबापत २५ करोड, श्रीमानले २५ वर्ष काम गर्न सक्ने भएकाले परिवार धान्न सो समयको आयआर्जनबापतको साढे १२ करोड, छोराछोरीको अध्ययन खर्चबापत ५ करोड र औषधिउपचारको २८ लाख ७३ हजार क्षतिपूर्ति माग दाबी गरिएको छ । डा. सिंहका एक छोरा र एक छोरी बंगलादेशमा एमबिबिएस अध्ययनरत छन् ।

जनकपुर उपमहानगरपालिकाको पुल्चोक स्थायी घर भएका डा. सिंह १० वर्षदेखि भैरहवास्थित मेडिकल कलेजमा अर्थो विभाग प्रमुखको रुपमा कार्यरत थिए। प्राध्यापक सिंह सोही कलेजमा अध्यापन समेत गर्थे । २०७६ को भदौ १० गते साँझ खाना खाने क्रममा डा. सिंहको घाँटीमा मासुको हड्डीसहितको टुक्रा अड्कियो । तत्काल उनलाइ भैरहवा मेडिकल कलेजमै लगियो ।

त्यसदिन रातभर उनलाई कुनै उपचार नगरी इमरजेन्सीमा राखियो । ११ गते डा. विश्व तुलाचन, सन्तोष शाह र लक्ष्मी पाठकको टिमले उपचार सुरु गर्‍यो। इन्डोस्कोपी अपरेसनद्वारा घाँटीमा अड्किएको आधा हड्डी निकालेको र आधा धकेलेर पेटमा पठाएको भन्दै चिकित्सक टोलीले अपरेसन सफल भएको बतायो । अपरेसनपछि घाँटीमा हड्डी बाँकी भए नभएको निक्र्योल गर्न सिटीस्क्यान समेत गरिएन । अपरेसन गरेको पाँचौं दिनमा डा. सिंहको अवस्थामा सुधार हुनुको साटो ज्वरो आउने, बान्ता हुने समस्या देखियो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि बल्ल परिवारकै जोडबलमा सिटीस्क्यान गरिएको पीडित परिवारको गुनासो छ । सिटीस्क्यानमा घाँटीमा अड्डी बाँकी नै रहेको देखियो । बिरामीको अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले थप उपचारका लागि काठमाडौं पठायो। मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा थोयाकोटोमी विधिमार्फत अपरेसन गरी हड्डीको टुक्रा निकालियो ।

खाना नलीमा पनि संक्रमण देखिएपछि फेरि ग्यास्ट्रिक पुलअप शल्यक्रिया गरीयो तर स्वास्थ्यमा सुधार भएन । त्यसपछि उनलाई भेन्टिलेटरमा राखियो । माघ २ गते उनको मृत्यु भयो । मनमोहनमा पुर्‍याउनुअघि नै बिरामीको घाँटी, पेट र छातीमा संक्रमण फैलिसकेको चिकित्सकको रिपोर्टम उल्लेख छ ।

डा. सिंहकी पत्नी विनाले पुस ३ गते नै मेडिकल कलेजका चिकित्सकको लापरबाहीले श्रीमान् जीवनमरणको दोसाँधमा पुगेको भन्दै नेपाल मेडिकल काउन्सिलमा निवेदन दिएकी थिइन् । मेडिकल काउन्सिलले उपचारमा लापरबाही भएको ठहर गर्दै डा. तुलाचनलाई एक वर्षका लागि इन्डोस्कोपी गर्न रोक लगाएको छ ।

डा. पाठकलाइ स्वीकृति नलिई बिरामीको उपचारमा संलग्न भएको र बिरामीको अवस्थासम्बन्धी सूचना र भिडियो सोसल मिडियाबाट सार्वजनिक गरेको भन्दै सचेत गराइएको छ । अर्का डाक्टर सन्तोष शाहको भने उपचारमा कुनै भूमिका नदेखिएको भन्दै काउन्सिलले सफाइ दिएको छ । पीडित परिवारले भने पहुँचका आधारमा काउन्सिलले शाहलाई उन्मुक्ति दिएको गुनासो गरेका छन् ।

मेडिकल काउन्सिलको कारबाहीमा चित्त नबुझेपछि क्षतिपूर्तिको माग दाबीसहित अदालतमा मुद्दा दायर गरेको डा. सिंहका छोरा प्रज्वल सिंहले बताए । उपचारमा गम्भीर लापरबाही गर्ने चिकित्सक र अस्पताललाई उचित कारबाही नगरी सामान्य तरिकाले उम्काउन खोजेको पीडित परिवारको गुनासो छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७