आज दीपावली गरी धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिंदै


प्रकाशित मिति : November 14, 2020

काठमाडौं, २९ कार्तिक । नेपालीको दोस्रो ठूलो पर्व तिहार शुरु भइसकेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ ।

कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि शनिबार बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि छ । जसका कारण कुकुर पूजा बिहान गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ ।

आइतबार बिहान औंसी तिथि भए पनि बिहान ११ बजेर २७ मिनेटपछि प्रतिपदा तिथि लाग्ने भएकाले लक्ष्मीपूजा अघिल्लै दिन साँझ मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिको निर्णय छ । शनिबार दिउँसो १ बजेर ४९ मिनेटपछि औंसी तिथि लाग्छ । लक्ष्मीको पूजा साँझ गर्नुपर्ने शास्त्रीय मान्यता रहेको समितिका अध्यक्ष प्राडा. रामचन्द्र गौतम बताउँछन् ।

कात्तिक कृष्ण औंसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिन्छ । कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य स्वरूप घर घरमा बत्ती बाली लक्ष्मीलाई स्वागत गरिन्छ ।

यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तनिर्हित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतीक मानेर त्यसै दिन पनि कसै कसैले लक्ष्मीपूजा गर्ने गर्छन् । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कात्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुशीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसंग छ ।

सुख, सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्ने धार्मिक परम्परा छ । शनिबारै साँझ भैलो पनि खेल्ने परम्परा छ तर यसपटक कोभिड १९ का कारण देउसी भैलो प्रभावित हुने भएको छ ।

साँझ घरको सरसफाइ गरी मूल ढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको प्रतीकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ ।

बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ छ । सबैतिर सफा राखी आँगन, दैलो, झ्यालढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्‍याङ आदि ठाउँमा बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ । झिलिमिली पार्न विद्युतीय बत्ती, मैन बत्ती, दियोमा बत्ती तथा पाला र केराका सुत्लामा तेलमा भिजाइएको कपास प्रयोग गरिन्छ ।

गाउँघरमा आँगन, पिँढीमा गाईको गोबर र रातो माटोले लिपेर सफा बनाउने गरिन्छ । घरका झ्यालढोकाका साथै पानी सार्न प्रयोग गर्ने गाग्रीलोटामा फूलका माला लगाएर सिँगार्ने गरिन्छ । दीपावलीपछि घरको पूजाकोठामा आफूसँग भएका सुनचाँदीका गरगहना, नगद, रोटी र फलफूल राखेर फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्ने परम्परा छ ।

लक्ष्मीपूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आर्थिक संकट नपर्ने जनविश्वास छ । लक्ष्मीपूजाका दिन बिहानै पूजाकोठा, पसल, उद्योगलगायतमा सरसफाइ गरी फूलको माला लगाइदिने चलन छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ ।

भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ ।

दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान, सुपारी, फूल आदि दिने चलन छ । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो र सयपत्रीको माला, रोटी, मीठामीठा परिकार आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्