प्रदेश–२ सरकारले भ्रष्टाचार र कुशासनमा नयाँ कीर्तिमान बनायो : प्रभु साह


२९ कार्तिक २०७७, शनिबार
prabhu sha

काठमाडौं, २९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले प्रदेश–२ सरकारले बेथिति, भ्रष्टाचार र कुशासनको कीर्तिमान बनाएको आरोप लगाएका छन् ।

सामाजिक संजाल फेसबूकमार्फत नेकपा प्रदेश–२ का अध्यक्ष समेत रहेका नेता साहले प्रदेश सरकारको आर्थिक वर्ष २०७७–७८ को बजेट भ्रष्टाचार, बेथिति र कुशासनको नयाँ कीर्तिमान भएको बताएका छन् ।

विगतमा प्रदेश सरकारले व्यक्तिको मोबाइल नम्बर समेत तोकेर बजेट निर्माण गरेको स्मरण गराउँदै नेता साहले यस वर्षको बजेटमा परामर्शदाता र विक्रेताको नाम समेत उल्लेख गरेकोप्रति आक्रोश देखाएका छन् ।

नियमपूर्वक प्रक्रिया पूरा गरी खुल्ला प्रतिस्पर्धाबाट खरिद आह्वान हुने व्यवस्थाको धज्जी उडाउँदै प्रदेश सरकारले पहिला नै रेडबुकमा विक्रेताको नाम लेखेर भ्रष्टाचार गरेको भन्दै नेता साहले प्रदेश सरकार आपराधिक रवैया रहेको जिकिर गरेका छन् ।

‘विगतका वर्षहरुमा व्यक्तिको मोबाईल नंबर नै तोकेर बजेट निर्माण गर्ने प्रदेश २ को सरकार यस आ.व. २०७७–७८ मा झन परामर्शदाता तथा विक्रेताहरुको नाममा बजेट तोकी रेड बुक प्रकाशित गरेर भ्रष्टाचार, बेथिती एवं कुशासनको फेरि अर्को नयाँ कीर्तिमान खडा गरेको छ ।’

उनले भनेका छन्, ‘सार्वजनिक क्षेत्रमा वस्तु तथा सेवा खरिदर विक्री गर्दा खुल्ला प्रतिस्पर्धासहितको एउटा निश्चित कार्यविधिको पालना गर्नुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी मान्यतालाई समेत प्रदेश–२ सरकारले धज्जी उडाएको छ ।’

उनले उल्लेख गरेका छन्, ‘प्रदेश सरकारको यी र यस्ता गलत रवैया र अपराधहरुले गर्दा नै आज सिङ्गो प्रदेश र प्रदेशवासी जनताको स्वाभिमान, गौरव र गरिमामा खलल पुग्नुको साथसाथै मधेसको अपमान एवं बदनाम समेत भईरहेको छ ।’

नेता साहले प्रदेशको सत्तारुढ दलका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई एवं केन्द्रिय अध्यक्ष महन्थ ठाकुरलाई प्रश्न गर्दै थपेका छन्, ‘सुशासन र सदाचार बिना देशको समृद्धि र विकास सम्भव छैन, भन्ने कुराको हेक्का प्रदेश–२ को सरकारले पनि राख्नु पर्छ कि पर्दैन ? जसपाका नेता बाबुराम भट्टराई र महन्त ठाकुरजी तपाईहरुले देशलाई दिन खोज्नु भएको सुशासनको मोडेल यही हो त ?’

विभिन्न भ्रष्टाचारका विषयहरू बाहिर आउने भएकोले विवादित रहेको प्रदेश नम्बर–२ सरकारमा ७ मन्त्रालयमा १४ जना मन्त्री छन् ।

1 2
2 1
3 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७