अब कोटेश्बर–जडीबुटी सडक सात लेन


३० कार्तिक २०७७, आईतवार
Koteshwor

काठमाडौं, ३० कार्तिक । काठमाडौं उपत्यकामा बढी ट्राफिक जाम हुने कोटेश्वर–जडीबुटी सडकखण्ड विस्तार गरी अब सात लेनको हुने भएको छ ।

ट्राफिक जाम व्यवस्थापन गर्ने उद्देश्यसहित सात लेन बनाउन लागिएको कोटेश्वर–जडीबुटी सडक विस्तारका लागि संरचना हटाउने काम धमाधम भइरहेको छ । डिभिजन सडक कार्यालय काठमाडौंले आगामी महिना सडक विस्तारका लागि ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

सडक विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फको पर्खाल सारिएको छ । अब केही समयभित्रै निर्माणस्थल खाली गरेर आगामी महिनामा ठेक्का प्रक्रियामा जाने तयारी गरिएको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले जनाएका छन् ।

विमानस्थलको सुरक्षालाई ध्यान दिएर बाहिरी बारलाई पहिले स्थानान्तरण गरिसकेपछि मात्रै अहिलेको बार भत्काइएको हो । विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तार गर्न बाटो खुलेको हो ।

कोटेश्वर–जडीबुटी सडकखण्ड हाल चार लेन रहेको छ । अब तीन लेन थप्न संरचना हटाउने काम भइरहेको हो । सडकमा तीन लेन थपिएपछि उक्त सडकखण्डमा सवारी चाप कम हुने अपेक्षा गरिएको छ । कोटेश्वरबाट जडीबुटितर्फ लाग्दा देब्रे (उत्तर)तर्फ एक लेन र दाहिने (दक्षिण) तर्फ दुई लेन थप्ने गरी निर्माणस्थल खाली गर्ने काम भइरहेको हो ।

डिभिजन सडक कार्यालय काठमाडौंले निर्माण सुरु भएको ६ महिनामा सम्पन्न हुने जनाएको छ । अहिले नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गरिरहेको छ भने कोटेश्वरस्थित ट्राफिक प्रहरी कार्यालय नजिकै रहेको सार्वजनिक शौचालय काठमाडौं महानगरपालिकाले अबको १५ दिन भित्रमा हटाइसक्ने जनाएको छ ।

सो खण्डमा उत्तर र दक्षिण दुवैतर्फको सडक विस्तार गर्न लागिएको भए पनि पहिले दक्षिणतर्फबाट गर्न लागिएको डिभिजनले जनाएको छ । उत्तरतर्फ पर्ने एउटा घरको मुआब्जाको विषय टुंगिन बाँकी रहेको प्रमुख नेपालीले जानकारी दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले यसअघि भदौमा नै कोटेश्वर चोकमा विस्तार सुरु भएको सडकको अनुगमन तथा निरीक्षण गरेका थिए । त्यस क्रममा उनले संघीय राजधानी काठमाडांै प्रवेश गर्ने र बाहिरिने अत्यन्तै महत्वपूर्ण पूर्वी नाका रहेको र उपत्याकाकै बढी यातायात जाम हुने ठाउँ भएकाले यथासक्य छिटो निर्माण कार्य सम्पन्न निर्देशन दिएका थिए ।

यसअघि, मन्त्रिपरिषद् बैठकले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् कार्ययोजना पारित गरेको थियो । उक्त कार्ययोजनाअनुसार कोटेश्वर चोकको ट्राफिक जाम कम गर्न अकासे पुल निर्माण गर्ने, अन्डरपास बनाउने, सडक छेउका दुवै भागमा ट्र्याक विस्तार गर्नेलगायतका योजना अघि सारिएको थियो । मन्त्रिपरिषद्को निर्णयपछि काठमाडौं महानगरपालिका, सडक विभागलगायत निकायले नियमित रूपमा सडक विस्तारको पहल गर्दै आएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७