उपत्यकामा कोरोना संक्रमित संख्या एक लाख नाघ्यो, आज थपिए ११ सय ७ जना

‘उपत्यकामा फेरि २१ दिन लकडाउन गरौं’


५ मंसिर २०७७, शुक्रबार

काठमाडौं, ५ मंसिर । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । आज (शुक्रबार) काठमाडौं उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख ८७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म काठमाडौंमा ८१ हजार ५ सय ८८, भक्तपुरमा ७ हजार ३ सय ३६ र ललितपुरमा ११ हजार ९४८ जना संक्रमित देखिएका छन् । त्यसैगरी काठमाडौंमा ७१ हजार ५९१, भक्तपुरमा ६ हजार ४७० र ललितपुरमा ९ हजार ६३१ जना संक्रमित निको भएको मन्त्रालयको तथ्यांकमा छ ।

त्यसैगरी काठमाडौंमा ३१६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमित पुष्टि हुनेमा ४८४ महिला र ६२३ पुरुष रहेका छन् ।

काठमाडौंमा ८६२, भक्तपुरमा ७१ र ललितपुरमा १७४ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा १९ सय ४५ जना रहेका छन् । देशभर २४ घण्टामा १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।
उपत्यकामा फेरि २१ दिन लकडाउन गरौं : उपत्यका नगरपालिका फोरम

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै यहाँका महानगरपालिका तथा नगरपालिका प्रमुखले फेरि लकडाउन गर्नुपर्ने बताएका छन् । उनीहरुले उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कम्तिमा २१ दिन कडा लकडाउन गर्न सरकारलाई सुझाव दिएका छन् । छठपछि निषेधाज्ञा गर्नेबारे सरकार सकारात्मक रहेको मध्यपुर ठिमी नगरपालिकाका प्रमुख एवम् उपत्यका नगरपालिका फोरमका प्रवक्ता मदनसुन्दर श्रेष्ठले बताए ।

उनले भने, ‘सरकारसँग अस्ती हामीले गम्भीर रुपमा छलफल गरेका छौँ । उपत्यकामा लकडाउन गर्ने कुरामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायत सकारात्मक नै हुनुहुन्छ । पहिले गरेको लकडाउन उपलब्धीमूलक भएन, जनतालाई थुन्ने जस्तो मात्र भयो ।

जनतालाई घरभित्र थुन्ने मात्र हैन कि अब नाकाहरु पनि सिल गरेर लकडाउन गर्नुपर्छ । टोल टोलमा समुदायस्तरमा गएर कन्ट्रयाक ट्रेसिङ गर्दै संक्रमितलाई आइसोलेसनमा राख्दै जानुपर्छ । त्यसका लागि १४ देखि २१ दिन लाग्छ, त्यति समयभित्र उपत्यकाबाट कोरोना मुक्त गर्ने भन्ने हाम्रो प्रस्ताव छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७