अबको चार महिनामा थप एक लाख ४८ हजारलाई कोरोना : स्वास्थ्यमन्त्री


६ मंसिर २०७७, शनिबार
Bhanubhakta scaled

काठमाडौं, ६ मंसिर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घरघरमा पुगेर कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जनचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिहरुको भएकोे बताएका छन् ।

‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले चुनावमा भोट माग्न नागरिकको घरघरमा पुगे जस्तै कोभिड रोकथामका लागि स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन पनि सांसदहरु नागरिकको घरघरमा पुग्नुपर्ने बताए ।

यस्तै राजनीतिक दलहरुले पनि आफ्ना भ्रातृ संगठनहरुलाई परिचालन गरी गाउँगाउँमा जनस्वास्थ्यसम्बन्धी सचेतना फैलाउनुपर्ने उनले बताए । यस्तो कार्यले राजनीतिक व्यक्तिको राजनीतिक भविष्यमाथि समेत बलियो आधार तयार हुने उनको भनाइ छ ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्रै काम गर्ने नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नका लागि पनि घरदैलोमै पुगेर सचेतना जगाउनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइए पनि संक्रमण नियन्त्रण्मा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको जानकारी दिएका छन् । तर पछिल्लो परिस्थितिअनुसार कूल जनसंख्याको २ प्रतिशतसम्म संक्रमण हुने अनुमान सरकारले गरेको पनि मन्त्री ढकालले बताएका छन् ।

अबको चार महिनामा एक लाख ४८ हजार जनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान पनि सरकारले गरेको उनले जानकारी दिए । सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरुको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको मन्त्री ढकालले दाबी गरे । सामथ्र्यअनुसार संक्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको उनको भनाइ छ ।

कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको सहयोगका कारण सरकारलाई काम गर्न सहज हुँदै गएको मन्त्री ढकालले बताएका छन् । उनले अहिले पनि कूल सक्रिय संक्रमितमध्ये ८० प्रतिशत होम आइसोलेसनमा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पस्ट हुने बताए । सरकारले अस्पतालहरुमा अक्सिजनसहितका बेडहरुको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको उनको भनाइ छ ।

यस्तै विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरुलाई पनि भ्याक्सिन दिलाउन सकियोस् भन्ने तर्फ सरकारले ध्यान केन्द्रित गरी काम गरिरहेको पनि मन्त्री ढकालले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७